काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र मन्जुश्री फाइनान्सबीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल र फाइनान्सका सीईओ तेज राज तिमिल्सिनाले हस्ताक्षर गरे ।
फाइनान्सको केन्द्रीय कार्यालयमा मंगलबार सम्झौता भएको हो ।
कार्यक्रममा बोल्दै सीईओ रिमालले भने, ‘यो साझेदारी हाम्रो बीमा सेवाहरूलाई पहुँचयोग्य र समावेशी बनाउने यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। मन्जुश्रीसँग सहकार्य गरेर हामी आफ्नो पहुँच विस्तार गर्न र हाम्रो समुदायका वित्तीय र बीमा आवश्यकतालाई ध्यानमा राखी नवीन उत्पादनहरू सिर्जना गर्न चाहन्छौं ।’
यस्तै, फाइनान्सका सीईओ तिमिल्सिनाले इन्स्योरेन्ससँग उक्त सम्झौता गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । सम्झौतापत्रमा हस्ताक्षरपश्चात उनले व्यापार विस्ताका लागि हातेमालो गर्दै अघि बढ्न बताए ।
कार्यक्रममा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदम ठकुल्ला र इन्स्याेरेन्सका डीसीईओ अनिल राज गिरिकाे पनि उपस्थिति रहेकाे थियो ।
यस साझेदारीले दुवै संस्थाका ग्राहकहरूलाई फाइदा पुर्याउन विभिन्न सहकार्यपूर्ण व्यापारिक प्रयासहरू गर्ने लक्ष्य राखेको छ ।
साझेदारीले नयाँ व्यापार तथा अवसरहरूको खोजी, प्रक्रिया सुधार र अल्पसंख्यक जनसंख्यालाई सेवा प्रदान गर्न संयुक्त पहलहरू विकास गर्ने विश्वास लिइएको छ ।
यस सहकार्यले ग्रामीण र अर्धसहरी क्षेत्रमा वित्तीय र बीमा सेवाहरूमा रहेको महत्त्वपूर्ण अभावलाई सम्बोधन गर्न योगदान पुर्याउने लक्ष्य राखेको छ ।