काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समय बैंकिङ क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताएका छन् ।
सीबीफीनको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्ता चुनाैती समाधान गर्न कठिन भएकाे बताए ।
उपाध्यक्ष उपाध्यायले बैंकमा कार्यरत जनशक्ति पलायन भैरहेको र जनशक्ति पलायन रोक्न सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए ।
बैंकिङ क्षेत्रको विश्वसनीयता कायम राखी थप विश्वसनीयता बढाउनुपर्ने उनकाे भनाइ छ ।
उपाध्यक्ष उपाध्यायले सीबीफीनले विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर अध्ययन अनुसन्धान गर्दै आएको दावी गरे ।
यसैगरी, अध्येता डा.रमेष पौडेलले बैंकले उच्च नाफा कमायाे भन्ने चर्चा चलिरहँदा बैंकिङ क्षेत्रले उच्च नाफा कमाएको छ त भन्ने विषयमा अध्ययन भएको बताए ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले बैंकिङ क्षेत्रको आरओई घटेको बताए ।
उनका अनुसार कर्जा असुली नहुँदा खराब कर्जा बढेको छ । बैंकिङ क्षेत्रले तीव्र फड्को मारेको उनी दावी गर्छन् ।
यस्तैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योग व्यापारको विकास बिना देश विकास सम्भव नभएको बताए ।
उनले राज्य र बैंकिङ क्षेत्रले पनि उद्योग व्यापारलाई महत्त्व दिन छाडेको गुनासाे गरे।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राज्यले खपत घटाउने नीति लिएको हुँदा माग नै हुन सकेको बताए । उनले उद्योगको उत्पादन बढाएर खपत बढाउन जरुरी रहेको बताए ।
उनले उद्योग, व्यापार र कृषिलाई विशेष जोड दिन आग्रह गर्दै उद्योगलाई दिने कर्जा र अन्य क्षेत्रलाई दिने कर्जामा ब्याजदर फरक हुनुपर्ने धारणा राखे ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘७/८ प्रतिशतमा ब्याजदर घटेको भएपनि पुरानो ऋणीलाई घटेको छैन । पुरानो व्यवसायीलाई पेनाल्टी लगाउने गरिएको छ । यसमा राष्ट्र बैंकले यसमा विचार गर्नुपर्छ ।’
उनले देशभरका उद्योगी व्यवसायीहरूले बैंकमा ऋण माग्न जाँदा केन्द्रको निर्णय चाहिने भन्दै कर्जा नदिएकाे गुनासाे गरे ।
उनले संघीयता आइसकेपछि कर बढेको र कमाउनेभन्दा धेरै कर तिर्नुपरेकाेमा आपत्ति जनाए ।
त्यसैगरी, नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष वीरेन्द्र उपाध्यायले
ब्याजदर न्यून भएपनि बजारमा माग नहुँदा उद्योगी व्यवसायीले ऋण लिन सक्ने अवस्था नभएकाे बताए ।
माग संकुचित गर्ने विगतका निर्णयलाई सुधार गर्दै लैजानुपर्नेमा उनकाे जाेड छ ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले बैंकिङ क्षेत्रमा निजी क्षेत्रको प्रवेशले कर्जा प्रणालीमा पनि सुधार भएको देखिएकाे बताए ।
उनले कडाइ मौद्रिक नीतिका कारण सेयर बजार, घरजग्गालगायत क्षेत्रमा गिरावट आएकाे र यसले समग्र अर्थतन्त्र मन्दीमा गएको बताए ।
विगतको नीतिगत व्यवस्थामा सुधार नहुँदासम्म अर्थतन्त्र सुधार नहुने उनकाे बुझाइ छ ।
अध्यक्ष अग्रवालले निजी क्षेत्रलाई जोगाउन नसक्ने हो भने बैंकिङ क्षेत्र पनि ध्वस्त हुने दावीसमेत गरे ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले नेपालका बैंक तथा वित्तीय संस्थाको आरओई घटेको स्वाभाविक भएकाे बताए । ८ प्रतिशतको हाराहारीमा आरओइ घटेको उनकाे भनाइ छ ।
उनका अनुसार कतिपय बैंकको लाभांश नकारात्मक भएको छ ।
कार्यकारी निर्देशक पाैडेलले खराब कर्जा बढ्दा प्रोभिजन पनि बढेको बताए ।
उनले भने, ‘खराब कर्जा बढ्दा प्रोभिजन पनि बढेकाे छ । १३६ अर्ब खराब कर्जा रहेको छ । बैंकको आम्दानीमध्ये ब्याज आम्दानीकाे ८० प्रतिशत हो र खर्चमा पनि ब्याज नै हो । तर ब्याजकाे आम्दानी घट्दा प्रतिफल घट्न पुगेको हो ।’
उनले बैंक तथा वित्तीय संस्थाको योगदानले निजी क्षेत्र फस्टाएको बताए ।
साथै उनले वित्तीय क्षेत्रमा अराजक गतिविधि गर्ने र कर्जा लिएपछि नतिर्ने प्रवृत्तिका कारण कर्जा नगएको हुन सक्ने बताए ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले ग्रामीण क्षेत्रबाट अर्थतन्त्र परिवर्तन गर्नेगरी काम गर्नुपर्ने बताए । यसका लागि पालिकालाई र्याङ्किङ गरेर सोही अनुसारको स्रोत परिचालन गर्नुपर्नेमा जाेड दिए ।