News Portal

  • एसएमईमा एनआईसी एशिया बैंकको एक खर्ब बढी लगानी, लाखौंलाई रोजगारी

    आर्थीकसंसार संवाददाता२३ चैत, २०८०
    ३७ पटक
    २३ चैत, २०८०

    काठमाडौं । साना तथा मझौला उद्योगहरू (एसएमई)लाई मुलुकको अर्थतन्त्र चलायमान बनाउने मेरुदण्डका रुपमा लिइन्छ । यस्ता उद्योगहरू ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म सञ्चालनमा भइरहेका छन् । यस्ता उद्योगहरूले आर्थिक गतिविधिलाई सक्रिय बनाउँदै सर्वसाधारणलाई रोजगारी अवसर सिर्जना गरिरहेका छन् ।

    स-सानो लगानी गर्दै नयाँ उद्यमी जन्मिरहेका यस क्षेत्रलाई आवश्यक लगानीको लागि बैंकहरूले पनि सहयोग गरिरहेका छन् । वाणिज्य बैंकहरूमध्ये एसएमई क्षेत्रमा सबैभन्दा धेरै कर्जा लगानी एनआईसी एशिया बैंकले गरेको तथ्याङ्कले देखाउँछ ।

    एनआईसी एशियाले कर्जा प्रवाहलाई विविधिकरण गर्दैै देशभरिका विभिन्न क्षेत्रका एसएमईलाई कर्जा वितरण गर्दै उत्पादनशील क्षेत्रमा योगदान गर्दै आइरहेको बताएको छ । बैंकको तथ्याङ्क अनुसार गत माघसम्म १८ हजारभन्दा धेरै साना तथा मझौला उद्यमीलाई कर्जा प्रवाह गरेको छ । साथै, साना तथा मझौला उद्यमीमहरूलाई १ खर्ब ६ अर्ब ४५ करोड १० लाख रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गरेको बैंकको भनाइ छ ।

    एसएमई कर्जालाई प्राथमिकतामा राखेर उद्यमीहरूसँग सहकार्यमा बैंकले थप कार्य गरिरहेको बैंकले जनाएको छ । यस्ता प्रकृतिका कर्जा प्रवाह हुँदा उद्यमीहरूले हजारौैंलाई रोजगारी दिइरहेका छन् । यस्ता साना तथा मझौला उद्योगहरूले औसतमा एक जनादेखि १० जनासम्मलाई रोजगारी दिएको अनुमान छ । यस आधारमा १८ हजार उद्यमीले लिएको कर्जाबाट अधिकतम १ लाख ८० हजार जनाले रोजगारी पाएको बैंकको अनुमान छ ।

    देशभरका उद्यमीहरूले एसएमई कर्जा सहज रूपमा प्राप्त गर्न सकुन् भनेर बैंकले मुलुकभर सञ्चालनमा रहेका ३६० शाखा कार्यालयबाट यस्तो कर्जा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

    राज्यको नीतिलाई सहयोग गर्दै स्थनीय तहमा धेरै रोजगारी सिर्जना गर्न साना तथा मझौला उद्योगहरुमा कर्जा प्रवाह गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले बताए । उनका अनुसार आन्तरिक उत्पादन वृद्धि गर्न, स्थानीय स्रोत साधन, कच्चा पदार्थ प्रयोग गरेर उत्पादन बढाउन यस्ता उद्योगहरूले सहयोग गरिरहेका हुन्छन् ।

    ‘यसअघि बैंकिङ्ग पहुँचमा आउन नसकेका साना तथा मझौला उद्योग व्यवसायलाई एसएमई कर्जा प्रवाह गरिरहेका छौं,’ सीईओ न्यौपानेले भने, ‘हामीले उपलब्ध गराएको यस्तो कर्जाबाट देशभरका साना तथा मझौला उद्यमीहरुलाई उद्यम सञ्चलान गर्न सहयोग पुगेको छ भने यी उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष हजारौंले रोजगारी प्राप्त गर्नुभएको छ ।’

    बैंकले ठूला कर्पोरेट क्षेत्रभन्दा पनि साना तथा मझौला उद्योग व्यवसाय गर्ने (एसएमई)हरूलाई लक्षित गरेर कर्जा वितरण गरिरहेको उनको भनाइ छ । साना तथा मझौला उद्योगहरू देश विकासको आधार भएकाले यस क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने आफ्नो दायित्व भएकोे सीईओ न्यौपानेले बताए ।

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब एकतिहाइ जनतालाई सेवा दिन एनआईसी एशिया बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्