News Portal

  • वाणिज्य बैंकमा ४५ हजारलाई जागिर, नयाँलाई सरकारी बैंकमा बढी अवसर

    आर्थीकसंसार संवाददाता२० चैत, २०८०
    ५५ पटक
    २० चैत, २०८०

    काठमाडौं । जागिर गर्ने भनेपछि कुनै पनि व्यक्तिको पहिलो रोजाईको क्षेत्र बैंकिङ हुन्छ । बैंकिङ क्षेत्र प्रतिष्ठित भएकाले रोजगारीका लागि अधिकांशको रोजाइमा पर्न थालेको हो । साथै, यस क्षेत्रमा काम अनुसारको सम्मान र पारिश्रमिक पाइने भएकाले पनि बैंकमा काम गर्न इच्छुक हुन्छन् ।

    बैंकहरूले कर्मचारीलाई समय सापेक्ष सेवा सुविधा बढाउँदै जान्छन् । सोही अनुरूप कर्मचारीहरूले पारदर्शी ढंगले स्तरवृद्धि गर्नुका साथै दक्ष जनशक्ति नियुक्ति, पदस्थापना, सरुवा, वृत्ति विकास, कार्यसम्पादन मूल्याङ्कन, पुरस्कार तथा सजायका लागि आवश्यक नीति तयार पारी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै आएका हुन्छन् ।

    एक वर्षको अवधिमा साढे ७ हजार बढीलाई बैंकहरूले रोजगारीका रूपमा भित्र्याएका छन् । वाणिज्य बैंकहरूको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४४ हजार ९४६ जना कर्मचारी बैंकमा कार्यरत छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३७ हजार १३० जना कर्मचारी कार्यरत थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गन वर्ष बैंकिङ क्षेत्रमा ७ हजार ८१६ जना नयाँ कर्मचारी थपिएका हुन् ।

    राष्ट्रिय वाणिज्य बैंकले २३.८७ प्रतिशत अर्थात् ५१० जना थपेर २ हजार ६४६ जना कर्मचारी काम गरिरहेका छन् । यस्तै, नेपाल बैंकले १२.१८ प्रतिशत अर्थात् २९६ जना थपेर २ हजार ७२५ जना कर्मचारी, नबिल बैंकले ४.९२ प्रतिशत अर्थात् १०५ जना बढाएर २ हजार २३५ जना, सिद्धार्थ बैंकले ४.०६ प्रतिशत अर्थात् ७७ जना बढाएर १ हजार ९७० जना कार्यरत रहेका छन् ।

    एभरेष्ट बैंकले ३.७८ प्रतिशत अर्थात् ४० जना थपेर १ हजार ९७ जना, सानिमा बैंकले २.४४ प्रतिशत अर्थात् ३१ जना बढाएर १ हजार ३०१ जना, प्राइम बैंकले २.४३ प्रतिशत अर्थात् ३९ जना बढाएर १ हजार ६३९ जना, कृषि विकास बैंकले २.३५ प्रतिशत अर्थात् ५५ जना थपेर २ हजार ३९१ जना कर्मचारी कार्यरत छन् ।

    नेपाल एसबिआई बैंकले १.४२ प्रतिशत अर्थात् १३ जना थपेर ९२३ जना, एनएमबि बैंकले ०.९६ प्रतिशत अर्थात् १९ जना थपेर १ हजार ९८० जना काम गरिरहेका बैंकले जनाएको छ ।

    गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, कुमारी बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकमा कर्मचारीको संख्या दोब्बर वृद्धि भएको देखिन्छ । यी बैंक मर्जरमा सामेल भएका कारण कर्मचारीको संख्या बढ्न पुगेको हो ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)मा १११.५० प्रतिशत अर्थात् १ हजार ६९६ जना थपिएर ३ हजार २१७ जना कर्मचारी कार्यरत छन् । यस्तै, लक्ष्मी सनराइज बैंकमा ९३.४३ प्रतिशत अर्थात् १ हजार ३१० जना थपिएर २ हजार ७१२ जना कार्यरत छन् ।

    हिमालयन बैंकमा ११२.६३ प्रतिशत अर्थात् ९१६ जना थपिएर १ हजार ९३५ जना कर्मचारी, कुमारी बैंकमा ७८.६४ प्रतिशत अर्थात् १ हजार ४५१ जना थपिएर ३ हजार २९६ जना कमर्चारी, प्रभु बैंकमा ४३.६६ प्रतिशत अर्थात् १ हजार ४५१ जना थपिएर ३ हजार ४८१ जना र ग्लोबल आइएमई बैंकमा २३.९७ प्रतिशत अर्थात् ७११ जना थपिएर ३ हजार ६७७ जना कर्मचारी कार्यरत रहेको तथ्याङ्क छ ।

    तर, गत आर्थिक वर्ष विभिन्न ४ वटा वाणिज्य बैंकमा भने कर्मचारी संख्या घटेको तथ्याङ्क घटेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकमा कर्मचारी बाहिरिएका छन् । एनआईसी एशियाबाट १० प्रतिशत अर्थात् ४४२ जना कर्मचारी बाहिरिएर ३ हजार ९४३ जना मात्रै कर्मचारी कार्यरत छन् ।

    यस्तै, सिटिजन्स बैंकले २.३८ प्रतिशत अर्थात् ४२ जना घटाएर १ हजार ७१६ जना, माछापुच्छ्रे बैंकले १.६४ प्रतिशत अर्थात् २६ जना घटाएर १ हजार ५५८ जना र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१९ प्रतिशत अर्थात् १ जना कर्मचारी घटाएर ५०४ जना मात्रै कार्यरत रहेको तथ्याङ्क छ ।

    प्रतिकृया दिनुहोस्