News Portal

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२० असोज, २०८०
    २४४ पटक
    २० असोज, २०८०

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

    उनले सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा गर्न लागेको जानकारी दिएका हुन् ।

    सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो ।

    राजीनामाबारे उनले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’

    प्रदेशसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दलहरू मिलेर गएनन् भने मध्यावधि अवश्यम्भावी रहेको बताए ।

    मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थिए ।

    कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका छ जना प्रदेशसभा सदस्य छन् ।

    सत्तापक्ष नेकपा  एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार सरकारलाई विश्वासको मत नदिने सार्वजनिक गरिसकेको छ भने अन्य पार्टीले विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेका छैनन् ।

    प्रतिकृया दिनुहोस्