News Portal

  • मेगा बैंकद्वारा बाराका माछापालक किसानलाई सहुलियत कर्जा प्रदान गर्ने

    आर्थीकसंसार संवाददाता२१ साउन, २०७८
    १२४१ पटक
    २१ साउन, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धी मेगा बैंक नेपाल, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछा कृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
    उक्त सम्झौतापत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेश प्राइभेटडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले हस्ताक्षर गरेका हुन् ।
    यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडले माछापालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरु आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरु सहज रुपमा उपलब्ध गराउनेछ ।
    हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक कृषकहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । साथै, बैंकले आगामी ५ बर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।
    मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताइन् । बैंकले आम नागरिकहरुलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै सीईओ खुञ्जेलीले माछापालक किसानलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको समेत व्यक्त गरिन ।
    यसैगरी, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित भएको बताए ।
    त्यस्तै, बैंकले साउन २१ गते बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ कारोबारको शुभारम्भ समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्