
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ७५.६३ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
खुद नाफासँगै कम्पनीको खुद बीमाशुल्क पनि बढेर ५१ करोड ८२ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४२.८९ प्रतिशतले बढी हो । कम्पनीले गत आवको चैत मसान्तसम्म ३६ करोड २७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
एक अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँबाट बढेर २३.२४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१.३६ रुपैयाँबाट बढेर १६९.८७ रुपैयाँ पुगेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ५४.०९ गुणा बढी रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ३ हजार ८६७ वटा दाबी वापत ६० करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।