News Portal

  • बोनस बाँडेर हकप्रद सेयर घटाउँदै बीमा कम्पनी

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८१
    ११० पटक
    २५ भदौ, २०८१

    काठमाडौं । दुई बीमा कम्पनीले घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने अर्थात् घटाउने भएका छन् । पुँजी बजारमा सूचीकृत प्रभु महालक्ष्मी लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्ने भनेर घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने निर्णय गरेका हुन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्‍याउन निर्देशन दिएको छ । प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरू संशोधन गर्दै घटाउन थालेका हुन् ।

    प्रभु महालक्ष्मी लाइफले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित हकप्रद सेयर घटाउँदै अब ७ प्रतिशत मात्रै निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बोनस सेयर वितरण गर्ने भएपछि कम्पनीले हकप्रद सेयर घटाउने निर्णय गरेको कम्पनीले जनाएको छ । १० प्रतिशत बोनस सेयर ७ प्रतिशत हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी प्राधिकरणले तोकेबमोजिम ५ अर्ब ५ करोड ६३ लाख रुपैयाँ पुग्ने कम्पनीको भनाइ छ ।

    यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा भएकाले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । प्रस्ताव गरेको उक्त हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । तर, बोर्डले अनुमति नदिँदा हालसम्म हकप्रद सेयर जारी गर्न सकेको छैन ।

    यसबीचमा कम्पनीले ५.५ प्रतिशत बोनस सेयर वितरण गर्‍याे । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । उक्त बोनस घटाउँदै कम्पनीले हकप्रद सेयर संशोधन गरेको छ । अब कम्पनीले चुक्ता पुँजीको ६२.५६ प्रतिशत मात्रै हकप्रद सेयर जारी गर्ने भएको छ ।

    धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति नदिएपछि बोनस सेयर वितरण गरेका कारण संशोधन गरेको कम्पनीहरू बताउँछन् । तर, हकप्रद सेयर संशोधन हुँदैमा कुनै असर नपर्ने बीमा कम्पनीका सीईओहरूको भनाइ छ । तर, पुँजी बजारमा लगानीकर्ताको मनोविज्ञानमा भने असर पर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

    ‘कम्पनी र लगानीकर्ताले सोंच्ने तरिका फरकफरक हुन्छ, कम्पनीले प्राविधिक रूपमा सही व्याख्या गरेपनि त्यसले लगानीकताको मनोविज्ञानमा केही न केही असर पुगेको हुन्छ । तर, सकरात्मक असर पुग्छ वा नकरात्मक असर पुग्छ त्यो लगानीकर्तामा निर्भर हुन्छ,’ उनले भने, ‘कस्तो असर गर्छ भनेर सेयर मूल्यमा हुने परिवर्तनका आधारमा मात्र भन्न सकिन्छ ।’

    प्रतिकृया दिनुहोस्