काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हालसम्म कुल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जना ९ सय ६६ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ ।
यसैबीच बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ११ पुगेको छ । काठमाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु भएको छ ।
प्रदेशगत विवरण
आज संस्थागत आइसोलेशनमा प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन् ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ८९, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजार ६ सय १ र गण्डकी प्रदेशमा ३ सय १६ जना रहेका छन् । प्रदेश नम्बर ५ मा ७ सय ५६, कर्णाली प्रदेशमा २ सय ४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ गरी देशभरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना संक्रमित रहेका छन् ।
आज १ सय ९० जना आइसियु र ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन् ।
आजसम्म प्रदेश नम्बर १ मा ४ हजा १ सय ९, प्रदेश नम्बर २ मा १२ हजार २ सय ३३, बागमती प्रदेशमा १० हजार ९ सय ४१ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ९५, कर्णाली प्रदेशमा २ हजार ७ सय ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४३ गरी देशभरी ४६ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
काठमाडौं उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २ ललितपुरमा ६४ र भक्तपुरमा १ सय १ जना गरी जम्मा ७ सय ६७ जनालाई कोरोना संक्रमण देखिएको जनाएको छ । यो सँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ ।
देशभर १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिए
आर्थीकसंसार संवाददाता४ असोज, २०७७
४ असोज, २०७७