काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न सुविधा तथा फाइदासहितका बचत खाता योजना ल्याएको छ । बैंकले ग्राहकलाई सहज तथा सरल सेवा दिने उद्धेश्यले एनआइसी एसिया गुडविल एम्बासडर, द प्राइड अफ एनआइसी एसिया र द पार्टनर अफ एनआइसी एसिया लगायतका बचत खाता योजना ल्याएको हो ।
जसमा हाल व्याजदर ८.०३ प्रतिशत तोकिएको छ । बैंकले एनआइसी एसिया गुडविल एम्बासडरमा न्यूनतम मौज्दात २० हजार, द प्राइड अफ एनआइसी एसियामा १० हजार र द पार्टनर अफ एनआइसी एसियामा न्यूनतम ५ हजार रुपैयाँ मौज्दात तोकेको छ । बैंकले यस्ता खाता योजनामा आकर्षक बीमा सुविधा पनि दिने जनाएको छ ।
यस्ता छन् बीमा सुविधा
बैंकहरूले आफ्नो बैंकमा खाता खोल्ने खातावालालाई मात्र एक वर्षको लागि बीमा फाइदा उपलब्ध गराउँदै आएका छन्। एनआईसी एसिया बैंकले यसअघि खातावाललाई मात्र एक वर्षका लागि बीमा फाइदा उपलब्ध गराउँदै आएकोमा आम जनमानसको आवश्यकता, चाहना र अपेक्षाको पहिचान गरी थप फाइदासहित ५ वर्षको लागि बीमा फाइदा उपलब्ध गराउन थालेको छ।
बैंकले यी तलब बचत खाता खोल्ने ग्राहकको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । एनआईसी एशिया गुडविल एम्बेसडर तलब बचत खातामा ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध छ । गुडविल एम्बेसडर तलब खाता हुने कर्मचारीले आफु एवं आफुले सिफारिस गरेका ३ व्यक्ति गरी चार जना बराबरको ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोक बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा पाउनेछन् ।
द प्राइड तलब बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन् । यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि २ लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ । औषधोपचार बीमाको २ लाखमध्ये अस्पताल भर्ना भएको अवस्थामा १ लाख ६० हजार रुपैयाँ र ओपीडीको लागि ४० हजारर रुपैयाँ बीमावापत उपलब्ध गराइने छ । यस्तो फाइदा खातावालाले आफूले मात्र प्रयोग गर्ने छैन् ।
यस्तै पार्टनर तलब खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँ बराबरको बीमा फाइदा पाउने छन् । जसमा दुर्घटना बीमा १० लाख, घातक रोक बीमा १० लाख र औषधोपचार बीमा १ लाख रहेको छ । औषधोपचारको १ लाख बीमामध्ये ओपीडी उपचारको लागि २० हजार रुपैयाँ र अस्पताल भर्नाको लागि ८० हजार रुपैयाँ तोकिएको छ । पाँच वर्षसम्म उपलब्ध हुने यो बीमा फाइदा यस खाताको बीमा भने खातावालाले मात्र प्रयोग गर्न पाउनेछन् ।
कर्जा सम्बन्धी फाइदाहरू
तलब बचत खातामा ग्राहकको लागि तीन वटै खातामा रहेको औषत रकमको १० गुणाबढीसम्म कर्जा पाउने फाइदा रहेको छ । जस्तो कि ग्राहकले आफ्नो खाताको ३ महिनाको औषत मौज्दातको १० गुणबढी पूर्व स्वीकृति कर्जा पाउनेछन् । यो फाइदा गुडविल एम्बेसडर, प्राइड र पार्टनर तीनै खातामा उपलब्ध रहेको छ । यो कर्जा सीमामा आधार दरमा लाग्ने प्रमियम शुल्क १ र कर्जा प्रशासनिक शुल्क ०.२५ रुपैयाँ रहेको छ ।
प्रिभिलेज बैंकिङ्ग
एनआईसी एशिया बैंकले आफ्ना सेवा र फाइदा आफूले तोकेको समयावधि भित्रै उपलब्ध गराउने सत प्रतिशत ग्यारेन्टी लिएको छ । तोकेको समयभन्दा छिटो सेवा नभएमा ग्राहकलाई क्षतिपूर्तिको दिने घोषणा पनि बैंकले गरेको छ । जस्तो कि कुनै पनि सेवाको लागि बैंकले तोकेको समयभन्दा आधा समयभित्र सेवाहरू उपलब्ध हुने छन् । बैंकले अर्को ग्यारेन्टी के गरेको छ भने निर्धारित सेवा प्रवाह समयभन्दा बढी समय कुर्नु परेमा प्रति केसको लागि १० रुपैयाँको क्षतिपूर्ति दिइनेछ । यो तीनवटै खाताको लागि राखिएको छ । यी खाताको लागि डेडिकेटेड रिलेसनसिप म्यानेजमेन्ट उपलब्ध गराएको छ । सेवा प्रवाहको लागि बैंकले तोकेको समयको ५०५ समय भित्र सेवा प्रदान गरिने उल्लेख गरेको छ ।