News Portal

  • राष्ट्रिय सहकारी बैंकले आठ अर्बको शेयर पुँजी बढाउने

    आर्थीकसंसार संवाददाता२४ पुष, २०७८
    ५७९ पटक
    २४ पुष, २०७८

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ । सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले तीन अर्बको शेयर पुँजी बढाएर आठ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।
    अहिले सातै प्रदेशमा इकाई साधारणसभा गरिरहेको बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारणसभा गर्दैछ ।
    बैंकले सहकारीलाई लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको र आगामी दिनमा कुन क्षेत्रमा लगानी गर्ने भन्ने तथ्याङ्क सङ्कलन गर्न सुरु गर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । त्यस्तै बैंकले विनियम संशोधन गरी तीन अर्ब शेयर पुँजीको सीमालाई बढाएर आठ अर्ब पुर्याउने जनाउँदै तरलता व्यवस्थापनमा लागेको जनाएको छ ।
    देशभर ३० हजार सहकारी छन् । बैंकले १५ हजारभन्दा बढी सदस्यलाई समेटेको छ । पुँजी बढाएर सबै सहकारीलाई पूर्ण वित्तीय सेवा दिने उद्घोषका साथ बैंकले पुँजी बढाउँदै लगेको छ ।
    बैंकले पहिलोपटक भौतिक रुपमा १८औं एकाइ साधारणसभा देशभरका प्रदेशअन्तर्गत पुस १६ गते धनगढीबाट सुरु भएको थियो । बैंकको ४४ शाखा रहेकामा ५४ प्रतिशतले बृद्धि गरी ६८ शाखा बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए । उनले सहकारी र प्रविधिबीच काम गर्न डिजिटल बैंकिङ युनिट बनाउने भन्दै अब वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने बैंक बनाउने बताए ।
    बैंकले सिबिएस स्तरोन्नति, कर्जा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने भएको छ । यस्तै, चेक क्लिरियन्स, तरलता सङ्कट व्यवस्थापन र उत्पादक क्षेत्रमा लगानी बढाउँदै लैजाने उनले बताए ।

    प्रतिकृया दिनुहोस्