News Portal

  • सनराइज बैंकले ल्यायो ‘सनराइज पेरोल लोन’ योजना

    आर्थीकसंसार संवाददाता२० असोज, २०७८
    १५३४ पटक
    २० असोज, २०७८

    काठमाडौं । विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको मर्म र भावनालाई बुझेर सनराइज बैंकले ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ । विगत लामो सयमदेखि समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले यसपटक पुनःपृथक किसिमको योजना सार्वजनिक गरेको हो ।
    बैंकले विभिन्न संघसंस्था तथा कम्पनीमा आवद्ध कर्मचारीहरुले बिना झन्झट सहज रुपमा कर्जाको सुविधा पाउन् भन्ने किसिमले यस्तो खालको सुविधा सार्वजनिक गरेको बताएको छ । बैंकको पेरोल सेभिङ अकाउन्टसँग आवद्ध हुने कुनै पनि संस्थाको कर्मचारीहरुलाई सहज र सरल सुविधा तथा सजिलोसँग कर्जा उपलब्ध गर्ने रणनीतिका साथ यो योजना सार्वजनिक गरेको बैंककी डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आरती राणाले बताइन् ।
    ‘सानो रकमको कर्जा सुविधा लिन ग्राहकले विभिन्न किसिमका समस्याहरु झेल्नुपर्ने अवस्था अहिले पनि कायमै छ, ती अनेकन झन्झट र प्रक्रियाहरुलाई कम गर्नका लागि हामीले सनराइन पेरोल लोन योजना ल्याएका हौं, यो योजनाले विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई सजिलो मात्र होइन, राहत हुने पनि हाम्रो विश्वास छ,’ उनले भनिन् ।
    के हो सनराइज पेरोल लोन स्किम ?
    कुनै पनि संघसंस्था तथा फर्महरुमा कार्यरत कर्मचारीहरुको तलब बचतका लागि खोलिएको ‘सनराइज पेरोल सेभिङ अकाउन्ट’अन्तर्गतका ग्राहकलाई दिइने यो एउटा स्किम हो । सनराइज बैंकमा पेरोल सेभिङ अकाउन्ट भएका ग्राहकहरुले मात्रै यो स्किमको सुविधा पाउँछन् । पेरोल सेभिङ अकाउन्टमार्फत नै ग्राहकहरुले विभिन्न प्रयोजनका लागि कर्जा पनि लिन सक्छन् ।
    ‘सरकारले पनि सबै संघसंस्था वा कम्पनीहरुलाई बैंकिङ प्रणालीमार्फत नै रकम भुक्तान गर्नमा जोड दिँदै आएको छ, हामीले पनि सनराइज पेरोल सेभिङ अकाउन्टमा यस योजनालाई लिङ्क गरेर बिनाधितो कर्जा दिने योजना बनाएका हौं,’ उनले भनिन् । उनका अनुसार बैंकको बिजसेनभन्दा पनि ग्राहकको सहजका लागि यो योजना ल्याइएको हो । यो योजनामा धेरै संघसंस्था र त्यस संस्थामा कार्यरत कर्मचारीहरु आवद्ध हुनसक्ने बैंकको विश्वास छ ।
    बिनाधितो १५ लाखसम्म कर्जा
    सनराइज बैंकले सनराइज पेरोल सेभिङ अकाउन्टमा आवद्ध ग्राहकहरुलाई मात्रै पेरोल लोनको सुविधा उपलब्ध गराउनेछ । अन्य खाता भएकाहरुका लागि भने यो सुविधा उपलब्ध छैन । उनीहरुले बैंका अन्य स्किमहरुको नै सुविधा लिन सक्नेछन् ।
    यस योजनाअन्तर्गत ग्राहकले १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा पाउनेछन् । यो योजनामा सहभागी हुने ग्राहकले डेबिट कार्ड र मोबाइल बैंकिङको सुविधा पनि निःशुल्क पाउनेछन् ।
    डीसीईओ राणाका अनुसार यो योजनाअन्तर्गत सनराइज बैंकका पेरोल सेभिङ अकाउन्टका ग्राहकले कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशतसम्म छुट पनि पाइनेछ ।
    यो योजनाको नयाँ विशेषता भनेको पेरोल अकाउन्ट होल्डरर्सले सनराइज पेरोल सेभिङ खातामा पाइने कर्जाका लागि योग्य हुनु हो, कुनै पनि कर्जा लिँदा धितो चाहिन्छ, तर यो योजनामा धितो चाहिँदैन, ग्राहकले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँसम्म विनोधितो कर्जा पाउँछन्,’ डीसीईओ राणाले भनिन् ।
    उनका अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाखसम्मको ओभरड्राफ्ट र १० लाखसम्मको टर्म लोन गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्नेछन् । कर्जा लिन भने कुनै पनि संघसंस्था वा कम्पनीमा आवद्ध हुनुपर्नेछ । उक्त कर्जाको अवधि ५ वर्षसम्मको लागि हुनेछ ।
    यस योजनाअन्तर्गत बीमाको सुविधा पनि रहेको छ । सनराइज पेरोल सेभिङ अकाउन्टअन्तर्गत ग्राहकलाई बैंकले बीमाको सुविधा पनि प्रदान गर्नेछ । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकलाई ५ लाख रुपैयाँसम्मको दुघर्टना बीमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा (८० हजार रुपैयाँसम्म अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्म ओपीडीको सुविधा) उपलब्ध गराउने बताएको छ ।
    यस्तो छ प्रक्रिया
    सनराइज बैंकले पेरोल सेभिङ अकाउन्टमार्फत प्रदान गर्ने १५ लाख रुपैयाँसम्मको बिनाधितो कर्जा पाउनका लागि तपाईंले केही प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । तपाईं आवद्ध संस्थाको सिफारिसमा स्यालरी सर्टिफिकेट, प्यानलगायतका कागजातसहित तपाईंले सनराइज बैंकमा पेरोल सेभिङ अकाउन्ट खोल्नुपर्ने हुन्छ । सोही खातामार्फत नै बैंकले पेरोल लोन स्किम प्रदान गर्छ ।
    खाता खोलेपछि तपाईं बिनाधितो कर्जा लिन इच्छुक हुनुहुन्छ भने तपाईंले विगत २४ महिनाको ‘स्यालरी सर्टिफिकेट’ अर्थात स्टेटमेन्ट बैंकमा बुझाउनुपर्ने हुन्छ । तपाईंको सम्पूर्ण ‘डिटेल’ (विवरण) बैंकले अध्ययन गरेपछि बैंकले तपाईं आवद्ध संस्थाको स्तर र तपाईंको स्तर ठहर गरेर तपाईंलाई दिने ऋण निर्धारण गर्छ ।
    डीसीईओ राणाका अनुसार बैंकले सुरुमा संस्थाको अर्थात रोजगारदाताको स्वीकृति लिन्छ । ‘रोजगारदाताले स्वीकृति दिएपछि विगत २४ महिनामा कर्मचारीले कति तलब पाएको छ ? स्टेटमेन्ट कस्तो छ ? कुन स्तरको कर्मचारी हो, मासिक तलब कति छ ? यी विभिन्न विषय हेरेर कर्जा निर्धारण गर्छौं, त्यसपछि मात्रै ग्राहकले कर्जा पाउनुहुन्छ,’ उनले भनिन् । उनका अनुसार बिनाधितो कर्जा भए पनि ऋणीको ‘फ्याम्ली मेम्बर ग्यारेन्टी’ भने राख्नुपर्ने हुन्छ । यदि तपाईं ऋण लिँदै हुनुहुन्छ भने तपाईंको श्रीमान वा श्रीमती अथवा आमाबुबालाई तपाईंले ‘फ्यामेली मेम्बर ग्यारेन्टी’का रुपमा राख्नुपर्ने हुन्छ ।
    कर्जा प्रवाहमा रोजगारदाता को हो भन्ने विषयले पनि फरक पर्ने उनको धारणा छ । रोजगारदाताको स्वीकृति लिइसकेपछि मात्रै सो संस्थाका कर्मचारीहरुले कर्जाको सुविधा पाउने उनको भनाइ छ ।
    कसले कतिसम्म पाउँछ कर्जा ?
    सनराइज बैंकको यो योजनाअन्तर्गत न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जाको सुविधा पाइन्छ ।
    सीईओ राणाका अनुसार ग्राहकको मासिक तलबका आधारमा नै कर्जा सुविधा निर्धारण हुन्छ । उदाहरणका लागि तपाईंको मासिक तलब २५ हजार रुपैयाँ छ भने तपाईंले सनराइज बैंकको यो योजनामार्फत ६ लाख रुपैयाँसम्मको बिनाधितो कर्जा सुविधा पाउन सक्नुहुन्छ । सनराइज बैंकले तपाईंको विगतको २४ महिनाको मासिक तलबको आधारमा नै कर्जा निर्धारण गर्छ । तर, यसका लागि कर्मचारी भने स्थायी हुनुपर्ने मापदण्ड बैंकले राखेको छ । ‘हामीले यो योजनामा सहभागी हुने कर्मचारी स्थायी हुनुपर्ने मापदण्ड राखेका छौं, तर, अनुभवी अस्थायी कर्मचारीहरुलाई पनि उहाँको सम्झौता अवधिअनुसार हेरेर कर्जा दिन सकिन्छ,’ उनले भनिन् । उनका अनुसार यो योजना सनराइज बैंकको सनराइज पेरोल सेभिङ अकाउन्टसँग आवद्ध भएका ग्रााहकलाई सहज रुपमा कर्जा उपलब्ध गराउनका लागि ल्याइएको प्रडक्ट हो । ‘धेरैका आ–आफ्नै समस्या हुन्छन्, सानो रकमको कर्जा भए पनि बैंकमा धितो राख्नु परेन, खातामा निरन्तर रुपमा बचत भएको छ भने त्यस्ता ग्राहकले यस्तो किसिमको कर्जा सुविधा सजिलै पाउँछन्,’ राणाले भनिन् ।
    राणाले बालबच्चाहरुको शिक्षा, पारिवारिक खर्च वा कुनै व्यक्तिगत कामका लागि चाहिने न्यूनतम कर्जाका लागि पनि धितो राख्नुपर्ने अवस्था अन्त्य गर्नका लागि यो योजना ल्याएको बताइन् । यस्तो खालको कर्जामा आधारदर प्लस प्रिमियम थपेर व्याजदर निर्धारण हुनसक्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्