News Portal

  • ‘सलिको’को नामबाट अघि बढ्यो सगरमाथा लुम्बिनी, नम्बर वान बन्न अवसरसँगै चुनौति पनि

    आर्थीकसंसार संवाददाता३० फागुन, २०७९
    ४२२ पटक
    ३० फागुन, २०७९

    काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका दुई कम्पनी मर्ज भई बन्यो सलिको अर्थात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी । जो ‘विश्वासको सम्बन्ध, एकताको प्रतिक’ को नारासँगै सलिकोको ब्राण्ड नाम लिएर नयाँ सोचका साथ अगाडि बढेको छ ।
    नेपालको पहिलो जोइन्ट भेन्चर कम्पनीको रुपमा वि.सं.२०५३ साल देखि सञ्चालनमा आएको सगरमाथा इन्स्योरेन्स र वि.सं.२०६२ सालदेखि निर्जीवन बीमा सेवा दिँदै आएको लुम्बिनी जनरल एक आपसमा मर्ज भएका हुन् । जसले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट फागुन २९ गतेदेखि औपचारिक रुपमा एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् ।
    सोमबार काठमाडौंको याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा दुई कम्पनीले संयुक्त कारोबार शुरु गरेका हुन् । दुई कम्पनी सबल पुँजी, प्रयाप्त शाखा सञ्जाल, दक्ष जनशक्ति भएको एक उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्ने कम्पनीको उद्देश्य छ । मर्जरसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन बीमा प्राधिकरणले तोकेको पुँजीको तुलनामा बढी हो ।
    निर्जीवन बीमा क्षेत्रमा सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीचको मर्जर चौथो हो । तर समग्र बीमा क्षेत्रमा भने यो पाँचौ मर्जर हो ।

    अवसरसँगै चुनौति पनि
    बीमा प्राधिकरणले पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्न नदिने भएसँगै मर्जरको लागि लुम्बिनी जनरल इन्स्योरेन्सलाई छनोट गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (साविकको सगरमाथा इन्स्योरेन्स)का सीईओ चंकी क्षेत्रीले बताए ।
    ‘सगरमाथा इन्स्योरेन्सको यो ऐतिहासिक क्षण हो, २७ वर्षको सगरमाथा र १८ वर्षको लुम्बिनी जनरलबीचको सहकार्यले बीमा क्षेत्रमा एउटा मार्ग बनाई विश्वसनीयताका साथ काम गर्नेछौं, हामी सहरमात्र केन्द्रित नभई गाउँमा पनि बीमाको पहुँच बढाउने छौं, नयाँ नयाँ प्रडक्टहरु बजारमा ल्याउने छौं,’ सीईओ क्षेत्रीले भने ।
    साथै, उनले यो एउटा अवसरसँगै चुनौति रहेको बताए । हालको लागि मानव संसाधनलाई व्यवस्थापन गर्नु मुख्य चुनौति रहेको उनको भनाई छ । पछिल्लो समय बीमाको दायराहरु बढ्दै गएको बताउँदै चंकी क्षेत्रीले यसबाट रोजगारी मात्रै नभई सो रोजगार र सम्भावनाका डोकाहरु खुल्दै गएको समेत उनले बताए ।

    कम्पनीको जोखिम धारण गर्ने क्षमतामा वृद्धि, कर्मचारीलाई छैन भेदभाव

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले सञ्चालक समितिले दिएको एकीकृत कम्पनीको अध्यक्ष पदको जिम्मेवारीलाई मनन गरी कम्पनीको हितको लागि काम गर्दै इन्स्योरेन्सलाई अघि बढाउने प्रतिवद्धता गरेका छन् ।

    विगत ९ महिनामा बिना कुनै अवरोध सफलता पूर्वक काम गरी मर्जर प्रक्रियालाई टुंगोमा पुर्याउन सफल भएको बताउँदै उनले मर्जरले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी कम्पनीहरुको जोखिम धारण गर्ने क्षमता बढाउने उनको भनाई छ ।
    ‘आगामी दिनमा सलिकोको नामबाट जनताको माझमा बीमाको पहुँच विस्तार गरी ग्राहकको सेवामा समर्पित हुने कम्पनीको रुपमा स्थापित हुने लक्ष्य लिएका छौं, हाम्रो दृष्टिकोण र लक्ष्य भनेको सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी) लाई बीमाशुल्क आर्जन, बजार हिस्सा, ग्राहकको विश्वास र सेवाको हिसावले संस्थागत सुशासन पालना गर्ने र गराउने तथा सेयरधनीलाई प्रतिफल दिने हिसावले उत्कृष्ट र अग्रणी कम्पनीको रुपमा लैजाने प्रयत्न गरेका छौं, बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा गर्दै नेपाल बीमा प्राधिकरणको नीति निर्देशनको पालना गरी हाम्रो लक्ष्य पुरा गर्छौं,’ अध्यक्ष मूलले भने ।
    त्यस्तै, बीमा क्षेत्रको विस्तार र पहुँचको लागि नेपाल बीमा प्राधिकरणको अनुमति लिई नयाँ नयाँ प्रडक्टहरु लागू गर्ने, बीमाको पहुँच लक्षित वर्गसम्म पुर्याउने, बीमाको दायरा विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउने कम्पनीको योजना छ । यसका साथै, कम्पनीले विगतमा गर्दै आएको सामाजिक उत्तरदायित्व (सीएसआर) लाई पनि निरन्तरता दिने छ । कम्पनीले दुबै कम्पनीको कर्मचारीलाई समान रुपले समायोजन गरेको अध्यक्ष मूलले बताए ।
    ‘दुवै कम्पनीमा कार्यरत कर्मचारीहरुले खाइपाई आएको सेवा शुल्कमा कुनै भेदभाव नगरी जिम्मेवारी समेत बाँडफाँड गरेका छौं, यससँगै उहाँहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउने नीति लिइएको छ,’ कार्यक्रममा बोल्दै उनले भने ।

    निर्जीवन बीमा क्षेत्रमा ‘एक नम्बर’

    साविकको सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले तोकिएको पुँजी पुर्याउनको लागि नै मर्जरको बाटो रोजेको बताए । विगत १६ वर्षभन्दा अघिदेखि सगरमाथाको सञ्चालक समितिको अध्यक्षको रुपमा कम्पनीको नेतृत्व गर्दै आएका अध्यक्ष मानन्धरले आफूसँग मिल्दोजुल्दो कम्पनीसँग मर्ज हुन सफल भएकोमा खुशी व्यक्त गरे ।
    ‘बजारमा राम्रो साख रहेको, सुशासनमा सबल रहेको, व्यवसाय सुशासन रहेको, पुँजी र दक्षताको हिसाबले लुम्बिनी जनरल इन्स्योरेन्सलाई उपयुक्त ठानिएको र दुवै कम्पनीबीचमा गहन छलफल भई मर्जरमा जान सम्भव भएको हो,’ उनले भने ।
    साथै, उनले नेपाल बीमा प्राधिकरणले तोकेको समयभन्दा एक महिना अगाडि नै कम्पनीको एकीकृत कारोबार गर्न सफल भएको बताए ।
    ‘दुई कम्पनी एक भएपछि निर्जीवन बीमा क्षेत्रमा एक नम्बर हुने लक्ष्यका साथ अघि बढ्ने छ भन्ने विश्वास छ, उनले भने- ‘पूर्वअध्यक्षको रुपमा मात्रै नभई कम्पनीको एक लगानीकर्ताको हैसियतले आगामी दिनमा कम्पनीको हितको लागि व्यक्तिगत साथ सँगै समर्थन रहने छ ।’

    ‘सलिको’ को नामबाट बीमाको पहुँच बढाउने

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुई वटा कम्पनी एकीकृत भई एउटा सशक्त कम्पनी बनेकोमा बधाईसँगै शुभकामना व्यक्त गरे । उनले दुई वटा परिवार एक भएपछि लुकेर बसेका ट्यालेन्ट बाहिर आउने र पुँजीको पर्याप्तताले कम्पनीलाई लगानी गर्ने ठाउँहरु प्रशस्त खुलेको बताए ।
    ‘दुई कम्पनीसँग भएको बेग्लाबेग्लै शक्ति, जनशक्तिलाई एकीकृत गरेर अगाडि बढ्दा बजारमा राम्रो छाप बनाउन सकिन्छ, मर्जरपछि बनेको नयाँ नाम नेपालको बीमा बजारमा बजारमा स्थापित गर्नुपर्छ,’ उनले भने ।
    नियामकले दिएको निर्देशन बीमकले मान्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । त्यसैले, नियामकले विभिन्न आधारमा टेकेर निर्णय गरेको बताउँदै उनले बीमा बजारलाई विश्वसनीय र कम्पनीलाई थप सशक्त कसरी बनाउन सकिन्छ ? त्यसको हितमा नियामकले काम गर्ने बताए ।
    ‘जोडिनु भनेको सामान्य होइन, यसले सिनर्जी ल्याउँछ, पुँजी वृद्धिले जोखिम धारण गर्ने क्षमतालाई बढाउँछ, इनोभेटिभ प्रडक्ट बजारमा आउन सक्छ, विज्ञता रहेको क्षेत्रहरुमा लगानी सकिन्छ,’ उनले भने- ‘अब सलिको नामबाट बीमाको पहुँच विस्तार गर्ने, बजारको हिस्सा बढाउने कम्पनीको लक्ष्यलाई प्राधिकरणले सँधै सहयोग गर्ने छ ।’
    साथै, उनले समय र प्रस्थितिअनुसार कम्पनीहरुको चुक्ता पुँजी बढाउँदै जानुपर्ने समेत बताएका छन् ।

    प्रतिकृया दिनुहोस्