News Portal

  • हिमालयन र सिभिल बैंकको सर्यो एकीकृत कारोबार मिति

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७९
    २४८ पटक
    १६ माघ, २०७९

    काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार मिति सरेको छ । माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी थालेको दुवै बैंकको कारोबार मिति सरेको हो ।
    नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन ढिलाइ गरेका कारण दुवै बैंकको एकीकृत कारोबारको मिति सरेको सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीले बताए । उनको अनुसार अब फागुन १० गतेभित्र एकीकृत कारोबार गर्ने दुवै बैंकको तयारी छ ।
    राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पुस २८ गते वार्षिक साधारण सभा सम्पन्न भएको दिन नै पत्र पठाए पनि स्वीकृति नपाएर ढिला भएको सञ्चालक बोगटीले बताए ।
    ‘राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि निवेदन पेश गरेका छौं तर, स्वीकृति पाएका छैनौं, राष्ट्र बैंकको पत्र आएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागुनको १० गतेभित्र र छिटोमा माघ मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने ।
    सिभिल बैंकलाई गाभ्न हिमालयन बैंक अन्तिम चरणमा छ । पुस मसान्तभित्र एकीकृत कारोबार हुन नसक्दा दुवै बैंकको कारोबार सर्दै गएको हो । दुवै बैंकले २८ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ ।
    हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ ।
    साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।
    सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।

     

    प्रतिकृया दिनुहोस्