काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै प्रदेशमा शाखा कार्यालय खाेली दाबी भुक्तानी सेवा दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
उनले सबै प्रदेशमा शाखा कार्यालय खोल्न, शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाटै हुने व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले साना बीमा दाबी भुक्तानीका लागि न्यूनतम कति कागजात चाहिने त्यसको यकीन गरी छिटो दाबी भुक्तानी दिनुपर्ने र त्यसका बारेमा सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने बताए ।
‘बीमाको दाबी भुक्तानी र जोखिमांकनमा समस्या छ, बीमा कम्पनी सकेसम्म दाबी भुक्तानी दिन चाहँदैनन् भन्ने गुनासा आएका छन्, कम्पनीहरुले बीमाको पुनर्बीमा नगराएको र क्षमताभन्दा बढी बीमा गरेका कारण दाबी भुक्तानी रोकिएको भन्ने कुरा आएको छ, अब त्यसका बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।
बीमा दाबी भुक्तानी बीमा कम्पनीको दक्षताको सूचक भएको उल्लेख गर्दै अध्यक्ष सिलवालले एउटा घटनालाई उदाहरण दिएर बीमा दाबी भुक्तानीमा ढिलो गर्न नहुने बताए । ‘बीमितले विश्वास गरेजस्तै कम्पनीेले पनि बीमितलाई विश्वास गर्नुपर्छ, दाबी भुक्तानी छिटो दिएर बीमाप्रतिको अविश्वासलाई विस्तारै विश्वासमा बदल्नुपर्छ, बीमा व्यवसाय बढाउने बाटोमा अगाडि बढ्नुपर्छ,’ उनले भने ।
यस्तै, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयमै बीमा दाबी भुक्तानी पाउँदा बीमितमा हुने खुशी ढिलो पाउँदा कम हुने बताउँदै छिटो छरितो माध्यमबाट बीमा दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई निर्देशन दिए ।