News Portal

  • तीन निर्जीवन बीमा कम्पनी अर्ब क्लबमा प्रवेश

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७८
    १२४४ पटक
    ४ भदौ, २०७८

    काठमाडौं । बजारमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका तीन कम्पनी अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार तीनवटा निर्जीवन बीमा कम्पनी अर्ब क्लबमा छिरेका हुन् ।
    सो वित्तीय विवरणअनुसार युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल), अजोड र एभरेष्ट इन्स्योरेन्सले एक अर्ब बढी कूल बीमाशुल्क आर्जन गरेका छन् । यसअघि उनीहरु करोड क्लबमा मात्रै रहेका थिए ।
    जसमध्ये सबैभन्दा बढी प्रिमियम अजोड इन्स्योरेन्सले संकलन गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा ८८ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवको सोही अवधिमा एक अर्ब ३० करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । जुन ४७.७३ प्रतिशतले बढी हो ।
    त्यस्तै, युनाईटेड इन्स्योरेन्सले पनि एक अर्ब ५ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५२.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले ६९ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको थियो ।
    त्यसैगरी, अर्ब क्लबमा प्रवेश गर्न सफल भएको एभरेष्ट इन्स्योरेन्सले गत एक वर्षमा १ अर्ब १ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
    १४.९३ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय
    समग्रमा एक वर्षको अवधिमा निर्जीवन बीमा व्यवसाय १४.९३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेको २० कम्पनीमा ओरियन्टल इन्स्योरेन्सबाहेक बाँकी १९ वटा कम्पनीले औषतमा सो मात्राको वृद्धि हासिल गरेका हुन् ।
    अघिल्लो वर्षमा कूल २६ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका उक्त कम्पनीहरुले गत आवमा कूल ३० अर्ब ४१ करोड रुपैयाँ आर्जन गर्न सफल भएका हुन् ।
    जसमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । योभन्दा अघिल्लो वर्षमा पनि उच्च बीमाशुल्क संकलन गरेको कम्पनीले गत एक वर्षमा ३ अर्ब ९२ करोड रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११.३६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो ।
    त्यस्तै, सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्सले २ अर्ब बढी बीमाशुल्क आर्जन गरेर दुई अर्बको क्लबमा रहेका छन् । यसअघि एक अर्बको क्लबमा रहेको एनएलजी इन्स्योरेन्स यो पटक भने दुई अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ । १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको कम्पनीले गत आवमा २ अर्ब ८ करोड रुपैयाँ प्रिमियम उठाएको छ । जुन एक वर्षको तुलनामा २०.२३ प्रतिशतले बढी हो ।
    त्यस्तै, विभिन्न ११ वटा कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । र, बाँकी तीन वटा कम्पनी भने करोडौंकै क्लबमा रहेका छन् । नेशनल, जनरल र सानिमा जनरल इन्स्योरेन्सले क्रमशः ७६ करोड, ६५ करोड र ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्