काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो ।
कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोस्रो स्थानमा पर्न सफल भएको थियो । त्यसपछि एक महिनामै कम्पनीले थप ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।
यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले साउन १ शुक्रबार (अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन) आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको हो ।
कम्पनीले गत असार ३० गते मात्रै आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पाउने छन् ।
कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको सभाले जानकारी गराएको छ ।