News Portal

  • विद्युत प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमायो

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
    ७५७ पटक
    १ भदौ, २०७७

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको वर्ष ११ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमाएको हो । ३५औं वार्षिककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ ।
    ११ अर्ब ५ करोड नाफा आर्जन गरेसँगै प्राधिकरण सार्वजनिक संस्थानमध्येकै सबैभन्दा धेरै नाफा गर्ने संस्थान बनेको छ । विगतको नोक्सानलाई मिलाउँदा प्राधिकरण ४ अर्ब ८६ करोड सञ्चित नाफामा गएको छ ।
    प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो ।
    आर्थिक वर्ष २०७२/७३ मा नेपाल विद्युत प्राधिकरणको वार्षिक घाटा ८ अर्ब ८९ करोड थियो । त्यही वर्ष ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा प्राधिकरणले निरन्तर घाटा घटाएर गत आवबाट नाफा कमाउँदै नोक्सानीलाई शुन्य बनाएर निरन्तर नाफा कमाउँदै सुविधाजनक वित्तीय अवस्थामा पुगेको छ ।
    प्राधिकरणको बिजुली गएको चार वर्षमा चुहावटमा पनि उल्लेख्य कमी आएको छ । ०७३ सालमा २५.७८ प्रतिशत चुहावट भएको बिजुली गएको वर्ष १५ प्रतिशतमा सिमित भएको छ ।
    बितेका चार वर्षमा ८ सय १ मेगावाट रहेको विद्युतको आन्तरिक उत्पादन अहिले १ हजार २ सय ५८ मेगावाट पुगेको, ६ हजार मेगावाटको विद्युत खरिद सम्झौता भएकोमा ३ हजार मेगावाट विद्युत निर्माणको चरणमा रहेको छ । प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।
    नेपाल विद्युत प्राधिकरणले उल्लेख्य प्रगति हासिल गर्नुलाई नेतृत्वको भूमिकाले गर्दा हो भन्नेमा आम जनमानसको धारणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्