News Portal

  • नेकपा माधव–प्रचण्ड समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

    आर्थीकसंसार संवाददाता८ पौष, २०७७
    १८३७ पटक
    ८ पौष, २०७७

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
    नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेको छ ।
    माधव–प्रचण्ड समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।
    नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा संसदीय दलको नेता हुन अयोग्य रहेको आरोप लगाए । बुधबार बानेश्वरमा आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधनका क्रममा नेपालले सोही समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका थिए ।
    बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् । प्रधानमन्त्रीविरुद्धको प्रस्ताव पेश मात्रै भएको र थप प्रक्रिया पुर्याउनुपर्ने भएकाले बुधबार निर्णय नगरिएको गुरुङले जानकारी दिए । यसअघि माधव–प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो ।
    सो अवसरमा संसदीय दलको नेतामा निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले आफूले ठूलो जिम्मेवारी पाएको भन्दै आफूले लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संघीय संसद जीवित राख्न तथा राष्ट्र र जनताको पक्षमा काम गर्न आफ्नो सम्पूर्ण शक्ति खर्च गर्ने बताए । प्रचण्डले सबैसँग सहकार्य गर्दै नयाँ सरकार गठन गर्नेमा आफ्नो ध्यान जाने पनि बताए ।

    प्रतिकृया दिनुहोस्