
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गरिने बताए ।
‘बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउँछ । बजेटले राखेको मूल्यको दरभित्र रहने गरी हामीले मौद्रिक नीति तर्जुमा गर्ने गरेका छौं’, अधिकारीले भने ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्य वृद्धि ७ प्रतिशत रहने अनुमान रहेकोअ अधिकारीले बताए ।
अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएको अधिकारीले बताए ।
बजारमा समग्र मागको कमी भएको कारण कर्जाको मागमा पनि कमी भएको गभर्नर अधिकारीको भनाई छ ।
‘निक्षेप राम्रो भए पनि कर्जा बिस्तार कम भएकाले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ । कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको छ’, गभर्नर अधिकारीले भने ।
असारमा बैंक तथा वित्तीय क्षेत्रमा तरलता राम्रो बढेको भन्दै सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको उनले बताए । बैंकहरुले ब्याजदर घटाइरहेको पनि उनले बताए ।
कुल लगानीको ४० प्रतिशत ऊर्जामा लगानी भइरहेको बताए । उद्योग र आयातमा मात्रै नभई आन्तरिक उत्पादन बढाउने क्षेत्रमा कर्जाको प्रवाह गर्ने नीति राष्ट्र बैंकले लिएको उनले बताए ।