काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो ।
मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराएका थिए । सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो ।
गत मङ्सिरमा काठमाडौंमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि सो अवसरमा छलफल भएको थियो । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो ।
कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो ।
भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र २४ घण्टे बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायत विषयमा पनि छलफल भएको बताइएको छ । प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कतारमा तीन लाख बढी नेपाली श्रमिक कार्यरत रहेका छन् ।
मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए । भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालका साथै नेपाली दुतावासका अधिकारीहरू उपस्थित थिए भने कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीसमेत थिए ।
नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति
आर्थीकसंसार संवाददाता७ चैत्र, २०७८
७ चैत्र, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह