News Portal

  • एलआईसी नेपाल १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७७
    ८६६ पटक
    १६ भदौ, २०७७

    काठमाडौं । एलआइसी नेपाल १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको हो ।
    कम्पनीका सञ्चालक तथा सिईओ लक्ष्मीप्रसाद दासले १९औं बार्षिकोत्सवको अवसरमा आगामी दिनमा अधिकतम जनताको माझमा बीमाको पहुँच विस्तार गर्ने बताएका छन् । २०औं वर्ष प्रवेशको अवसरमा सन्देश दिँदै सिईओ दासले भने, ‘हामी बीमा शुल्कमा भन्दा पनि दीर्घकालीन समृद्धिसहितको बीमाको पहुँच जनतामाझ पुर्याउनमा प्रयत्नशील हुनेछौं ।’ सिईओ दासले महामारीको समयमा बीमाको महत्व जनताले झनै बुझेकाले आगामी दिनमा बीमा कभरेज बृद्धि गर्दै प्रविधि, दक्ष जनशक्तिसहित सक्रिय हुने बताए । सिईओ दासले बीमाको दीगो विकास जरुरी भएको बताए ।

    एलआईसी नेपालले गत असार मसान्तसम्ममा ६७ अर्ब ७० करोड भन्दा बढी जीवन बीमा कोषमा संचित गर्न सफल भएको छ भने झण्डै १२ करोड मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी दुई अर्ब एक करोड रहेको कम्पनीले वार्षिक १५ अर्ब हाराहारी बीमा शुल्क संकलन गर्दै आएको छ । नेपालमा दर्ता भई स्वतन्त्र कम्पनीको रुपमा बीमा व्यवसाय गर्दै आएको कम्पनीले देशैभरी शाखा, उपशाखा तथा एजेन्सी कार्यालयहरु सञ्चालन गरी बीमा सेवा प्रवाह गर्दै आएको छ । एलआईसी नेपाल दोस्रो ठूलो बीमा कम्पनी हो । गुणस्तरीय बीमा सेवामा जोड दिँदै आएको कम्पनीले दावी भुक्तानी समयमै गरेर जनताको विश्वास जित्न सफल भइसकेको छ । आगामी दिनमा अझै बीमा व्यवसाय फराकिलो हुने विश्वास सिईओ दासले व्यक्त गरेका छन् । कम्पनीले महामारीको समयमा बार्षिकोत्सव मनाउन नपाए पनि डिजिटल माध्यमबाट कर्मचारी तथा अभिकर्ताहरुसँग छलफल गरेर बार्षिकोत्सव मनाएको जनाएको छ ।
    ५५ प्रतिशत एलआईसी इण्डियाको शेयर, २५ प्रतिशत नेपालकै विशाल ग्रुपको शेयर २० प्रतिशत सर्वसाधारणको शेयर रहेको एलआईसी नेपालले स्थापनाको छोटो अवधिमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्