News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको भन्दा ४.१२ प्रतिशत सस्तो व्याजमा कर्जा दिने

    आर्थीकसंसार संवाददाता१ फागुन, २०७८
    ९६९ पटक
    १ फागुन, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा पैसा राख्दा पाइने व्याजभन्दा सस्तो व्याजमा ऋण पाइने भएको छ । बैंकले निक्षेपमा दिने व्याज भन्दा कर्जामा लिने व्याज कम भएको हो ।
    बैंकहरुले निक्षेपको व्याजदर बढाउँदै लगे पनि राष्ट्र बैंकले गरेको नियामकीय व्यवस्थाको कारण निक्षेपको भन्दा कर्जाको व्याज सस्तो हुने देखिएको हो ।
    रावा बैंकले निक्षेपमा दिने अधिकतम व्याज कर्जामा लिने न्यूनतम व्याजभन्दा ४.१२ प्रतिशतले बढी छ । आज (फागुन १ गते) रावा बैंकले प्रकाशित गरेको कर्जाको न्यूनतम (प्राथमिकता प्राप्त क्षेत्र कर्जा) व्याजदर ७.९१ प्रतिशत छ भने निक्षेपको अधिकतम (रेमिटान्स मुद्दति) व्याजदर १२.०३ प्रतिशत छ ।
    राष्ट्रिय वाणिज्य (रावा) बैंकबाट प्रवाह हुने सबै प्रकारका कर्जाको व्याजदर मुद्दति निक्षेपको भन्दा कम छ । बैंकले आज (फागुन १ गते) प्रकाशित गरेको व्याजदर अनुसार मुद्दति निक्षेपमा ११.०३ प्रतिशत व्याज दिने भनिएको छ भने सो बैंकबाट प्रवाह हुने सबै प्रकारका कर्जाको अधिकतम व्याजदर १०.६६ प्रतिशत मात्रै हुन आउँछ ।
    बैंकहरुले कर्जा दिनको लागि प्रत्येक त्रैमासको अन्त्यमा कायम भएको आधार दरमा प्रिमियम तोकेर व्याजदर निर्धारण गर्न पाउँछन् । गत पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.४२ प्रतिशत भए पनि राष्ट्रिय वाणिज्य बैंकको आधार दर भने ६.६६ प्रतिशत मात्रै छ ।
    बैंकहरुले कर्जाको व्याजदर तोक्दा आधार दरमा आफूले लिने प्रिमियम थपेर लिन्छन् । र, कति प्रिमियम थप गरिने हो भन्ने कुराको जानकारी व्याजदर प्रकाशनकै समयमा सार्वजनिक गर्नुपर्छ । राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ४ प्रतिशत प्रिमियम लिने भनेर सूचना प्रकाशित गरेको छ ।
    नियामकीय व्यवस्थाको कारण आफूहरुको निक्षेपमा दिनेभन्दा कर्जामा लिने व्याज कम भएको बैंकका डेपुटी कार्यकारी अधिकृत (डीईओ) देवेश प्रसाद लोहनीले बताए ।
    ‘गत पुस मसान्तको आधार दर ६.६६ प्रतिशत मात्रै हो, त्यसमा बढीमा ४ प्रतिशत प्रिमियम लिएर कर्जाको व्याजदर तोकिन्छ, त्यसैले अहिले हाम्रो बैंकबाट प्रवाह हुने कर्जाको अधिकतम व्याजदर भनेको १०.६६ प्रतिशत मात्रै हो,’ डीईओ लोहनीले भने ।
    राष्ट्रिय वाणिज्य बैंकले एक वर्षे मुद्दतिमा दिने ११.०३ प्रतिशत व्याजदरलाई नै आधार मान्दा पनि सो बैंकले सबै प्रकारका कर्जामा (१०.६६ प्रतिशत) लिने व्याजदर निक्षेपको भन्दा ०.३७ प्रतिशतले कम देखिन्छ ।

    प्रतिकृया दिनुहोस्