News Portal

  • नीतिगत अनुसन्धानमा वर्ल्डलिंकले सहयोग गर्ने

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७८
    १२१५ पटक
    २८ माघ, २०७८

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई नीतिगत अनुसन्धानमा सहयोग गर्ने भएको हो । शुक्रबार वर्ल्डलिंक र दायित्व नेपालबीच यसबारे सम्झौता भएको हो । नीति अनुसन्धान सम्बन्धी यस सम्झौतामा वर्ल्डलिंक कम्यूनिकेशन्सका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरेका हुन् ।
    यस सम्झौता अनुसार सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा दायित्व नेपाल तीन जनालाई नीति फेलोशिप प्रदान गर्नेछ । लगानीमा पहुँच, युवा रोजगरी, महिलाको आर्थिक सशक्तिकरण, मुल्य श्रृंखला र शासन सुधार लगायतका विषयवस्तुमध्ये विश्वव्यापी प्रतिस्पर्धा मार्फत रिसर्च फेलो छनोट गरिनेछ र उनीहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सह–सचिवस्तरका अधिकारीहरुको मेन्टरिङमा नीतिगत अनुसन्धान गर्नेछन् । ५ सांसद र सम्बन्धित मन्त्रालयका ५ अधिकारीहरुको सहभागितामा १० विषयवस्तु छनोट गरेर विश्वव्यापी प्रतिष्पर्धा गरिने दायित्व नेपालले जनाएको छ ।
    वर्ल्डलिंक कम्युनिकेशन्सका अध्यक्ष अग्रवालले स्वदेशभित्र उद्यमशिलता विकासका लागि सहयोग पुर्याउनका लागि प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि फेलोशिप सहयोग गरेको बताए । ‘विदेश पढ्न गएकालाई स्वदेश फर्कन र स्वदेशबाट विदेश जाने तरखरमा रहेका युवालाई नेपालमै बसी काम गर्ने वातावरण निर्माणका लागि रोजगारी दिन सक्ने गरी उद्यमशिलता विकास गर्नका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधारमा सहयोग पुर्याउन सहयोग गरेका हौ । यसले नेपालमै उद्यमशिलता गर्नका लागि युवावर्गलाई प्रेरणा दिन सहयोग पुर्याउनेछ,’ उनले भने ।
    दायित्व नेपालका अध्यक्ष मल्लले वर्ल्डलिंकसँगको सहकार्यले युवा–सरकारबीचमा विश्वासका वातावरण निर्माणका साथै आर्थिक शुशासन अभिवृद्धिसँगै युवावर्गलाई आशा, उत्साह र परिवर्तित भएर अघि बढ्न सहयोग पुर्याउने बताए ।

     

    प्रतिकृया दिनुहोस्