News Portal

  • सिटिजन्स बैंकले पिलुवा खोला जलविद्युत आयोजना निर्माणमा १ अर्ब ३२ करोड लगानी जुटायो

    आर्थिकसंसार संवाददाता१५ भदौ, २०७७
    १०४२ पटक
    १५ भदौ, २०७७

    काठमाडौं । रिभर फल्स पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहभागी सहवित्तीयकरणमार्फत लगानी जुटाइएको छ ।
    परियोजनाको अनुमानित लागत करिब रु. १ अर्ब ८९ करोड ४० लाखमा बैंकहरुले ७०ः३० को ऋणः स्वपुँजी अनुपातमा रु. १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट रु. ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. ४२ करोड र प्रभु बैंकबाट रु. २५ करोड लगानी हुनेछ । प्रवद्र्धकले थप ३० प्रतिशत स्वपुँजी लगानी गर्नेछन् ।
    कम्पनीले यस आयोजना २ वर्ष ५ महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वरस्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।
    सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तीय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धि रहेको बताउँदै सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गरे । उनले प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरेका छन् ।
    कम्पनीको तर्पmबाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिँदै आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए । उनले परियोजना समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्