
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बाँडफाँट हुने भएको छ । शुक्रवार नै बाँडफाँटको तयारी गरिएको समाज लघुवित्तको आईपीओ प्राविधिक समस्याका कारण सोमवारका लागि सारिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रवार डाटा भेरिफाई हुन नसक्दा बाँडफाँट हुन नसकेको जानकारी दिएको छ ।
अहिले प्राथमिक बजारमा निष्काशनमा आएका अन्य कम्पनीको शेयर बाँडफाँटले पनि सिडिएससीमा एकपटक लोड पर्ने भएकाले सोमवार गर्ने तयारी रहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाको भनाई छ । सोमवार अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटललको कार्यालयमा आईपीओ बाँडफाँट हुनेसमेत उनले जानकारी दिए ।
समाज लघुवित्तले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । यस आईपीओमा माग भन्दा १४८ दशमलव ५६ गुणा बढी आवेदन परेको छ । ५ लाख ६४ हजार १३८ जना आवेदकहरुबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्ये १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरेको हो । समाज लघुवित्तको जारी पुँजी २ करोड रुपैयाँ रहेको छ । हाल १ करोड १४ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ पश्चात २ करोड रुपैयाँ पुग्नेछ । आईपीओ पश्चात संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारणतर्फ ४३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।