
काठमाडौं । नेपाल बैंकले बुधबार बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले कलेजसँगको सहकार्यमा विद्यार्थीलाई डिजिटल बैंकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा नेपाल बैंकका ब्राण्ड एम्बासडर महाविर पुन प्रमुख अतिथिको रुपमा रहेका थिए ।
करिब २०० विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्ग प्रविधिहरु, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महाविर पुनले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक विद्यार्थी उद्यमशील बन्नुपर्ने आजको आवश्यकता रहेको बताए । राष्ट्रिय आविष्कार केन्द्रले उद्यमी बन्न चाहने विद्यार्थीलाई सहयोग गर्ने आश्वासन पनि दिएका थिए ।
नेपाल बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम, र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।