News Portal

  • बैंकिङ क्षेत्रले सबैसँग हातेमालो गरेर अघि बढ्नुपर्छः नवनिर्वाचित अध्यक्ष उपाध्याय

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ८७६ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार उपाध्यायले बैंकिङ क्षेत्रले सबैसँग हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् ।
    मंगलबार नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले अब बैंकिङ क्षेत्रले वित्तीय प्रणालीलाई सुदृढ बनाउन र स्वस्थ प्रतिस्पर्धाका लागि लाग्नुपर्ने बताउँदै एकअर्काबीच हातेमालो गर्नुपर्ने धारणा राखेका हुन् ।
    ‘बजार बुझेर बैंक तथा वित्तीय संस्थाहरु पनि सोहीअनुसार अगाडि बढ्न आवश्यक छ, स्वस्थ प्रतिस्पर्धा र आफ्नो व्यवसायिक धर्म निभाउन सक्नुपर्छ, अहिलेको चुनौतिको सामना गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ,’ उनले कार्यक्रममा भने ।
    संघको ३५औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्विरोध चयन भएका उनले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले निम्त्याएको जोखिमले ल्याएको असर र यसले भएको अस्वस्थ प्रतिस्पर्धाले झनै जोखिम निम्त्याएकोले अब बैंकिङ प्रणालीलाई व्यवस्थित किसिमले अगाडि बढाउनका लागि सबैले समीक्षा गर्ने बेला आएको पनि बताए । ‘हामी कहाँ चुक्यौं, केही समय हामी आत्तियौं पनि, हामीले हाम्रो मानसिकता परिवर्तन गर्न जरुरी छ, बैंकबाट कर्जाको रुपमा बाहिरिएको पैसा बैंकिङ क्षेत्रमा आयो कि आएन त्यो पनि प्रश्न छ, अब यी सबै विषयको बारेमा समीक्षा गर्ने बेला आएको छ,’ उनले भने ।
    यस्तै, नियामकीय निकाय, उद्योगी व्यवसायी, बैंकरलगायत सबैको साथ सहयोग र समन्वय तथा कुशल व्यवस्थापनले महामारी परास्त गर्न सफल भएको उनको धारणा छ । उनले तरलताको अभावले बैंकहरु आत्तिएको बताउँदै अब वित्तीय सूचकांक, आर्थिक गतिविधिलगायतमा सुधार ल्याउन आवश्यक भएको बताए । उनले नयाँ कार्यसमिति सबैको साथ सहयोग र समन्वयले मात्रै अगाडि बढ्न सक्ने धारणा पनि राखे ।

    प्रतिकृया दिनुहोस्