
काठमाडौं । डोल्मा इम्प्याक्ट फण्डले ढुवानी सेवा प्रदायक कम्पनी उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने भएको छ ।
डोल्मा इम्प्याक्ट फण्डले जारी गरेको विज्ञप्तीअनुसार १८ करोड ८६ लाख ५६ हजार रुपैयाँ पुँजी लगानी गर्नेबारे बिहीबार शेयर लगानीकर्ताहरुसँग लिखित सम्झौता भएको छ ।
उपाय सिटी कार्गोले विगत दुई वर्षदेखि मोबाइल एप्स र वेभसाइटमार्फत राजधानीभित्र साना मालबाहक गाडी र स्कुटीबाट मालसामान ढुवानी गर्ने सेवा प्रदान गर्दै आएको छ ।
उपाय सिटीले देश बाहिरसमेत ढुवानीको सेवा प्रदान गर्ने तयारी गरेको छ । उपाय सिटीले राजधानी बाहिर बुद्ध एयरले हवाई मार्गबाट ढुवानी गर्ने मालसामान पोखरा र भैरहवामा स्थानीय उपभोक्ताहरुको घरदैलोसम्म पुर्याउने सेवा प्रदान गर्न थालेको हो ।
विदेशी दातृ संस्था तथा लगानीकर्ताहरुबाट लगानीका लागि आवश्यक पुँजी जुटाएर डोल्मा इम्प्याक्ट फण्डले नेपालको निजी क्षेत्रसँग मिलेर वैकल्पिक ऊर्जा, जलविद्युत, कृषि भण्डारलगायतको व्यापारमा शेयर लगानी गर्दै आएको छ ।