
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले जेठ २५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।
सभाले कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतका दरले ४६ करोड ८० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशतका दरले २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद गरी कुल ४.७४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
सभाले गत वर्ष सामाजिक उत्तरदायित्त्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियामकबाट कुनै फेरबदलको लागि निर्देशन प्राप्त भए सोही बमोजिम गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्नेछ ।
साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।