News Portal

  • १५ वर्ष बितिसक्दा पनि नयाँ मृत्यु दर तालिकाको छैन सुरसार, प्राधिकरणको काम सधैं गफमा मात्र सीमित

    आर्थीकसंसार संवाददाता१८ बैशाख, २०८२
    ६ पटक
    १८ बैशाख, २०८२

    काठमाडौं । नेपालमा जीवन बीमाको बीमाशुल्क दर निर्धारणका लागि आधारका रूपमा लिइने मृत्यु दर निर्धारका लागि डेढ दशक पुरानै तालिका  प्रयोगमा रहेको छ। नेपाल बीमा प्राधिकरणले पहिलो पटक २०६६ सालमा मृत्युदर तालिका जारी गरेको थियो।

    नेपालको मृत्यु दर तालिका जारी हुनु अघिसम्म बीमाङ्कीले बीमाशुल्क दर निर्धारणका लागि भारतीय मृत्यु दर तालिका प्रयोग गर्दै आएका थिए । पहिलो मृत्यु दर तालिका जारी गर्दाको समयमा पछिल्लो राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालीको औसत आयु ६०.४ वर्ष थियो। यस अवधिमा नेपालीको औसत आयु १४ वर्षले बढेको छ। २०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालीको औसत ७१.३ वर्ष पुगेको छ। यो मध्ये पनि महिलाको औसत आयु ६८.२ वर्ष र पुरूषको आयु ७३.८ वर्ष रहेको छ ।

    जीवन बीमकको अण्डराइटिङ क्षमता र बीमितको सचेतनाको अवस्था पनि बढेको छ। यसबाहेक नेपालीको प्रति व्यक्ति वार्षिक औसत आय उल्लेख्यरूपमा बढेको छ। गरिबीको रेखामुनी रहेको जनसंख्या पनि उल्लेख्यरूपमा घटेको तथ्य विश्व बैंकको प्रतिवेदनले नै पुष्टी गर्छ।

    मृत्युदर तालिका तयार पार्नका लागि आवश्यक पर्ने नयाँ तथ्याङ्क पर्याप्त मात्रामा उपलब्ध भइसकेको छ। सबै जीवन बीमकले बीमा कारोबार सम्बन्धमा विशिष्टीकृत सफ्टवेयर प्रयोग गरिरहेकाले तथ्याङ्कमा त्रुटीको जोखिम पनि तुलनात्मकरूपमा न्यून हुँदै गएको छ।

    यी पृष्ठभूमीका बावजुद नेपालको जीवन बीमा बजारमा उपभोक्ताले १५ वर्ष पुरानो मृत्यु दर तालिकाको आधारमा बीमाशुल्क भुक्तानी गर्नु परिरहेको छ। महँगो बीमाशुल्क भुक्तानीका कारण अनावश्यकरूपमा बीमा खर्च बढेको छ, पुनर्बीमा जोखिम हस्तान्तरणवापत बीमकको खर्च बढेको छ, स्वदेशी मुद्रा बाहिरिएको छ।

    नेपाल बीमा प्राधिकरणको सूचना अधिकारी निर्मल अधिकारीले मृत्यु दर तालिका अध्यावधिक गर्न प्राधिकरणले पटक पटक प्रयास गरेपनि सार्थकता नपाएको बताए। उनले भने, विश्व बैंकले सहयोग गर्ने आश्वासनपछि दुई वर्ष अघि बीमितको मृत्यु दाबी सम्बन्धमा तथ्यांक संकलन पनि गरियो, तर प्रगती भने हुन सकेको छैन। उनका अनुसार, मृत्यु दर तालिका परिमार्जन गर्न आवश्यक भएपनि राष्ट्रिय औसत आयु बढेर मात्र मृत्यु दर तालिकामा औसत आयु बढ्ने नभएर अन्य थुप्रै कारकले प्रभाव पार्छ ।

    तालिका संशोधनको कर्मकाण्डी प्रयासः

    नेपाल बीमा प्राधिकरणले मृत्यु दर तालिका परिमार्जन परियोजनाका लागि पहिलो पटक २०७५ सालमा तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको थियो। त्यसबेला साबिक बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाइँ थिए । समितिले १० वर्ष पुराना नाै जीवन बीमकसँग प्राधिकरणले तथ्यांक संकलन गरेको थियो। तथ्यांक संकलन पछि प्राधिकरण सेलायो ।

    २०७७ सालमा समितिमा सूर्य प्रसाद सिलवाल अध्यक्ष भएर आए, २०७९ असारमा पुनः मृत्यु दर तालिका परिमार्जनका लागि बीमा समिति जुर्मुराए झैं गर्‍यो । तारे होटलमा जीवन बीमक र बीमाङ्की समेत सहभागि गराएर अन्तरकृया कार्यक्रम आयोजना गर्‍यो।

    सिलवालले अवकाश पाई सकेर शरद ओझाले २०८१ देखि पदभार सम्हालेका छन् । लामो समयको अनुसन्धानबाट तयार पारिने भएपनि मृत्यु दर तालिका परिमार्जनको प्राविधिक अध्ययन, विश्लेषणको काममा २०८२ बैशाख भइसक्दा पनि उल्लेख्य प्रगती भने हुन सकेको छैन ।

    भारतमा पाँचाैं मृत्यु दर तालिकाः

    छिमेकी मुलुक भारतले पाँचाैं पटक मृत्यु दर तालिका संशोधन गरि सकेको छ। भारतीय बीमा नियामकका अनुसार, पछिल्लो पटक सन् २०१२ १५ को तथ्यांकमा आधारित मृत्यु दर तालिका २०२१ देखि लागू छ।

    भारतमा पहिलो मृत्यु दर तालिका २००१ मा लागू गरिएको थियो।

    1) Mortality for Assured Lives – LIC (1994-96)

    2) Indian Assured Lives Mortality (1994-96) (Modified) Ult Effective date: 1st January 2005

    3) Indian Assured Lives Mortality (2006-08) Ult Effective date: 1st April, 2013

    4) Indian Assured Lives Mortality (2012-14) Ult(Male insured lives that are medically underwritten at inception) Effective from 1st April 2019,

    5) Indian Individual Annuitant’s Mortality Table (2012-15)

    मृत्यु दर तालिका परिमार्जनको काम जटिल प्राविधिक विषय भएकाले यसमा निपुण विशेषज्ञ जनशक्तिको साथै ठूलो रकम खर्चिनुपर्छ। नेपाल बीमा प्राधिकरणका अनुसार, विद्यमान खरिद प्रकृया सम्बन्धी प्रावधानले पनि यो काममा केही अवरोध गरेको छ। मृत्यु दर तालिका तयार पार्नका लागि स्वदेशभित्र पर्याप्त दक्ष जनशक्तिको उपलब्धता छैन।

    भारतमा मृत्यु दर तालिका तयार पार्नका लागि बीमा नियामक, इन्स्टिच्युट अफ एक्चुअरिज अफ इण्डिया, एक्चुअरि एशोसिएशन, इन्स्योरेन्स इन्फरमेशन ब्यूरो, इन्स्योरेन्स इन्स्टिच्युट, जीवन बीमा परिषद, जीवन बीमकबीच सहकार्य हुँदै आएको छ। नेपालमा पनि बीमाङ्की विषयको अध्यापन गराइ रहेको त्रिभूवन विश्व विद्यालयले अध्ययनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो।

    प्राधिकरणले बीमा कम्पनीसँग नियमन शुल्कवापत असुली गर्ने रकमको सदुपयोग मृत्यु दर तालिकाको लागि आवश्यक अध्ययन अनुसन्धानमा खर्च गर्ने विकल्प छ। संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जीवन बीमक संघले पनि यसका लागि केही योगदान गर्न सक्छ। नेपालमा बीमा क्षेत्रको प्रभावकारी नियमनका लागि प्राविधिक सहयोग गरिरहेको विश्व बैंक लगायतका दातृ संस्थासँग पनि प्राविधिक सहयोगको अपेक्षा गर्न सकिन्छ।

    के हो मृत्यु दर तालिकाः

    मृत्यु दर तालिका शुन्य देखि ९९ वर्षसम्मको उमेरका मानिसको मृत्यु हुने संभावना कति हुन्छ भन्ने बीमाङ्की प्रक्षेपण गरिएको तालिका हो। यसमा कुनै पनि मुलुकको निश्चित उमेरका मानिसहरूको आयु, मृत्यु दाबी, उमेर, लिङ्ग, पेशा, स्वास्थ्यस्थिति, भाैगोलिक अवस्थिति लगायत कारणहरूको आधारमा मान्छेको औसत मृत्यु दर निर्धारण गरिएको हुन्छ।

    जीवन र स्वास्थ्य बीमाको सन्दर्भमा, मृत्युदर र रोग निदान तालिकाहरू बीमा उत्पादन, विशेष गरी जीवन बीमाको मूल्य निर्धारण र व्यवस्थापनका लागि महत्त्वपूर्ण छन्। मृत्युदर तालिका, जसलाई जीवन तालिका वा बीमांकीय तालिका पनि भनिन्छ, विभिन्न उमेरका व्यक्तिहरूको लागि मृत्युको सम्भावना बताउँछ। रोगनिदान तालिकाले रोग र रोगहरूको घटना र व्यापकता पहिचान गर्दछ।

    मृत्युदर तालिकाहरू एक निश्चित अवधि भित्र मृत्युको सम्भावना अनुमान गर्न प्रयोग गरिन्छ, जसले बीमा कम्पनीहरूलाई बीमाशुल्क निर्धारण गर्न, बीमितको बाँच्ने उमेरसँग जोडिएको जोखिम मूल्याङ्कन गर्न र वित्तीय स्थायित्व सुनिश्चित गर्न मद्दत गर्दछ।

    उमेर, लिङ्ग, र अन्य जनसांख्यिकीय कारकहरू, साथै जीवनशैली छनोटहरू र स्वास्थ्य सेवा पहुँचले मृत्युदरलाई असर गर्न सक्छ। मृत्युदर तालिकाहरू स्थिर छैनन् र चिकित्सामा भएको प्रगति र सुधारिएको स्वास्थ्य सेवा पहुँचको कारणले गर्दा मृत्युदरमा हुने परिवर्तनहरू प्रतिबिम्बित गर्न आवधिक रूपमा अद्यावधिक गरिन्छन्।

    रोग तालिकाहरूले जनसंख्या भित्र रोग र रोगहरूको घटना र व्यापकता ट्र्याक गर्छन्, विशिष्ट रोगहरूको संख्या र तिनीहरूको प्रभावको तथ्यांक प्रदान गर्छन्। यो तथ्यांकले सामान्यतया उमेर, लिङ्ग, र अन्य सान्दर्भिक कारकहरूमा तथ्यांक प्रस्तुत गर्छन्, विशेष रोग वा रोग विकास हुने सम्भावना देखाउँछन्।

    स्वास्थ्य बीमाको लागि विशिष्ट रोग तालिकाहरू मृत्युदर तालिकाहरू जत्तिकै व्यापक रूपमा प्रकाशित नहुन सक्छन्, बीमा कम्पनीहरूले जोखिम र मूल्य स्वास्थ्य बीमा र अन्य सम्बन्धित उत्पादनहरूको मूल्याङ्कन गर्न रोग डेटा प्रयोग गर्छन्। उमेर, लिङ्ग, जीवनशैली छनौटहरू, र वातावरणीय कारकहरूले रोग दरलाई प्रभाव पार्न सक्छन्। रोग ढाँचा र उपचार प्रगतिमा परिवर्तनहरू प्रतिबिम्बित गर्न मोर्बिडिटी तालिकाहरू नियमित रूपमा अद्यावधिक गरिन्छन्।

    प्रतिकृया दिनुहोस्