
काठमाडौं । मुक्तिनाथ फुड बैंकले प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल लिमिटेडसँग परामर्श सेवा सम्झौता गरेको छ ।
संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनाकालदेखि सेयर निष्कासनसम्मको समग्र प्रक्रिया सहज बनाउन सहयोग गर्ने मुक्तिनाथ फुड बैंकले जनाएकाे छ ।
सम्झौतामा मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहनकुमार बस्नेत र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार कम्पनीले पूँजी संरचना परिमार्जन, हकप्रद सेयर निष्कासन, पूँजी संकलन लगायतका विषयमा आवश्यक परामर्श प्राप्त गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्रअनुसार व्यावसायिक विस्तारका लागि आवश्यक सहजीकरण पनि सम्झौतामार्फत गरिनेछ ।
मुक्तिनाथ फुड बैंकले आउँदो वैशाख १७ गते विशेष साधारण सभा आह्वान गरी हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव पारित भएपछि चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा चुक्ता पूँजी ४० करोड पुर्याउने र आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।