
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित नयाँ सेवा सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ ।
यस सुविधाबाट अब बैंकसँग आबद्ध व्यवसायी (मर्चेन्ट)हरूले नेपाल र विदेशका ग्राहकबाट भिसा तथा मास्टर कार्डमार्फत सजिलै अनलाइन भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
ई-कमर्स कारोबारमा संलग्न विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) लगायतका मर्चेन्टहरूलाई यो सेवा विशेष उपयोगी हुने बताइएको छ ।
सामान्यतया कार्डमार्फत हुने भुक्तानीमा कार्ड भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट यो प्रणालीले हटाएको छ । अब डिजिटल प्रविधिको माध्यमबाट छिटो, सुरक्षित र भरपर्दो ढंगले भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको छ ।
बैंकका अनुसार यो सेवा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउनुका साथै मर्चेन्टहरूको व्यापारिक अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले सुरु गरिएको हो ।
ग्राहकहरूलाई आवश्यक थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।