
काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ कुर्सी सहयोग प्रदान गरेको छ । अस्पतालले आफ्नो स्थापनादेखि नै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्री हस्तान्तरण गरे ।
समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रको लागि सानै भएपनि सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।