
काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले २ हजार ४०० घरको घर बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घरको बीमा गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार २ हजार ४०० घरको बीमा गर्न लागिएको जानकारी दिए । गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनले बताए ।
अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाख रुपैयाँको बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमाशुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावा हुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ ।’
कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । चालु आवमा बीमाका लागि प्रदेश सरकारले ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ