News Portal

  • विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०८१
    ८ पटक
    ३० चैत्र, २०८१

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    प्राधिकरणले हाल विद्युतीय दुर्घटनामा परी मृत्यु भएमा कर्मचारीको हकमा बढीमा ५ लाख रुपैयाँ राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था थियो । त्यस्तै सर्वसाधारणको हकमा बढीमा ५ लाख रुपैयाँसम्म राहत दिने व्यवस्था गरेको थियो । बैठकमा मन्त्री खड्काले विद्युतीय दुर्घटनामा परेकाहरूलाई दिनुपर्ने राहत कुनै पनि बहानामा नरोक्न र तत्काल उपलब्ध गराउन समेत निर्देशन दिए ।

    बैठकले विद्युत् वितरण विनियमावली २०७८ लाई संशोधन गरी उपभोक्ताको असन्तुष्टिसम्बन्धी पुनरावेदन प्रक्रियामा उल्लेखनीय सुधार गर्ने निर्णय गरेको छ । कुनै उपभोक्तालाई आफूले प्रयोग गरेको विद्युत् महसुलमा चित्त नबुझे पुनरावेदन दर्ता गर्दा लाग्ने धरौटी रकम २५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमात्र कायम गर्ने निर्णयसमेत गरेको छ ।

    सर्वसाधारणले विद्युत् उपभोग गरेवापत प्राधिकरणले उपलब्ध गराउने विद्युत् महसुलमा पटकपटक चित्त नबुझेको व्यापक गुनासा आउने गरेको थियो । यो निर्णयले सर्वसाधारणमाथि पर्ने आर्थिक दबाब घटाएको छ भने विद्युत् प्राधिकरणप्रति नागरिकको विश्वास बढाउने छ ।

    बैठकले प्राधिकरणसँग सेवा प्रवाहको सम्झौता गरेका तर गुणस्तरीय सेवा दिन नसकेका संस्थाहरूको नवीकरण खारेज गर्ने निर्णय गरेको छ । प्राधिकरणको सेवालाई थप व्यवस्थित बनाउन राष्ट्रिय ग्रिड विस्तार भएको क्षेत्रमा प्राधिकरण आफैंले सेवा प्रदान गर्ने निर्णय गरेको हो । गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाहरूको मूल्याङ्कन गरी आवश्यकताअनुसार सम्झौतालाई निरन्तरता दिने भएको छ ।

    बैठकले ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरेको छ । चार सदस्यीय उक्त समितिमा प्राधिकरणका उप कार्यकारी निर्देशक, विद्युत् विकास विभागका विज्ञ, प्राधिकरणका कार्यकारी निर्देशक सदस्यसचिव रहने छन् । जसले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्राधिकरणले जनाएको छ ।

    उपभोक्ता र सर्वसाधारणलाई केन्द्रमा राखेर प्राधिकरणको सुधारका लागि महत्त्वपूर्ण निर्णय गरिएको प्राधिकरण सञ्चालक समितिका सदस्य श्याम किशोर यादव जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्