
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गर्दै आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक २०२५’ विविध कार्यक्रमसहित मनाएको छ । यस वर्षको नारा ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ लाई सार्थक बनाउने उद्देश्यले बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
बैंकले डिजिटल कारोबार, बैंकिङ सेवा, वित्तीय सचेतना र सुरक्षा उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी गराएको छ । १,२१२ विद्यार्थीहरू प्रत्यक्ष रूपमा वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका छन् भने ४४८ विद्यार्थीहरू बैंकका विभिन्न शाखाहरूमा भ्रमण गरी व्यवहारिक बैंकिङ प्रशिक्षण लिएका छन् ।
सप्ताहव्यापी रूपमा सम्पन्न ३८ विभिन्न कार्यक्रमहरूमार्फत १,६६० विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले देशभरका व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्याउने, वित्तीय चेतना अभिवृद्धि गर्ने र आर्थिक सशक्तीकरण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
यस अभियानले वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यलाई सार्थक बनाउँदै ‘ग्लोबल मनी विक २०२५’ को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएको बैंकको विश्वास छ ।