News Portal

  • राष्ट्र बैंकले ९ अर्ब ४ करोडको विकास ऋणपत्र बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८०
    २०१ पटक
    २८ भदौ, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ’ट’ बिक्री गर्न लागेको हो।

    बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ।

    इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ७ अर्ब ६८ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ३५ करोड ६० लाख छुट्याइएको छ।

    इच्छुक लगानीकर्ताले भदौ २९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही भदौ ३१ गते निष्काशन हुनेछ भने २०८६ भदौ ३१ गते साँवा भुक्तानी हुनेछ।

    प्रतिकृया दिनुहोस्