
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।
यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ ।
कम्पनीको अनुसार यस योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैयाँदेखि आयस्रोतको आधारमा चाहेअनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने छन् । साथै न्युनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस बीमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेखअन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए ।
यस बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कर्णले बताए ।