News Portal

  • मनसुनमा सरदरभन्दा बढी वर्षा र तापक्रमको सम्भावना, सतर्कता नअपनाए ठूलो क्षतिको चेतावनी

    आर्थीकसंसार संवाददाता७ जेठ, २०८२
    ९ पटक
    ७ जेठ, २०८२

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सन् २०२५ को मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरूले यो चेतावनीसहितको प्रक्षेपण सार्वजनिक गरेका हुन् ।

    वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार देशभर विभिन्न क्षेत्रहरूमा ५५ देखि ६५ प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने आँकलन गरिएको छ । पोख्रेलका अनुसार यो वर्ष मौसम अत्यधिक सक्रिय रहनेछ, जसले जनजीवनमा चुनौती थप्न सक्छ ।

    वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालमा ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने भएकाले, मनसुनसँगै आउन सक्ने बाढी, पहिरो र अन्य प्राकृतिक विपद्‌प्रति सतर्क रहन सबैलाई आग्रह गरिन् ।

    उनले भनिन्, ‘१२ महिनामध्ये ४० प्रतिशत विपद् मनसुन अवधिमा हुने भएकाले समयमै तयारी गरेमा धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।’

    विभागका अनुसार जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा हरेक वर्ष तीन सयभन्दा बढी नागरिकको ज्यान जान्छ भने २ सय मिलियन अमेरिकी डलरभन्दा बढीको क्षति हुने गरेको छ ।

    विभागले सम्भावित जोखिमहरूलाई मध्यनजर गर्दै संघीय, प्रादेशिक र स्थानीय सरकारहरूलाई समयमै आपतकालीन पूर्वतयारी गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्