News Portal

  • बीमा क्षेत्रको दायरा विस्तार गर्न नवीन प्रविधि र स्वच्छ प्रतिस्पर्धाको खाँचो : अध्यक्ष ओझा

    आर्थीकसंसार संवाददाता१ जेठ, २०८२
    २२ पटक
    १ जेठ, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र विस्तारलाई तीव्र गतिमा अघि बढाउन स्वच्छ प्रतिस्पर्धाका आधारमा नयाँ क्षेत्रहरूको पहिचान गर्दै काम गर्न आवश्यक रहेको बताएका छन्।

    नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ‌ओझाले बीमा व्यवसायलाई आधुनिक, पहुँचयुक्त र सर्वसाधारणमैत्री बनाउन नवीनतम प्रविधिको प्रयोग अपरिहार्य भएको धारणा राखे ।

    उनका अनुसार बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित, पारदर्शी तथा विश्वसनीय बनाउन प्राधिकरण निरन्तर सक्रिय छ । नागरिकलाई गुणस्तरीय र भरपर्दा सेवा उपलब्ध गराउने उद्देश्यले प्राधिकरण बीमितको हकहितको संरक्षण र बीमकको वित्तीय स्वास्थ्य मजबुत बनाउन क्रियाशील रहेको उनले बताए ।

    अध्यक्ष ओझाले सुशासनमार्फत बीमा क्षेत्रको योगदानलाई मुलुकको समग्र आर्थिक विकासमा थप सशक्त बनाउने प्रयत्न प्राधिकरणको स्थापनाकालदेखि नै भइरहेको उल्लेख गरे ।

    ‘बीमा मानव जीवन, सम्पत्ति र दायित्वमा आउनसक्ने जोखिम विरुद्धको प्रभावकारी वित्तीय सुरक्षा प्रणाली हो,’ उनले भने, ‘तर समयअनुसार जोखिमको स्वरूप र त्यसको व्यवस्थापन गर्ने उपायहरू समेत परिमार्जन हुँदै गएका छन् ।’

    उनले जीवन बीमालाई केवल लगानीको उपकरणको रूपमा मात्र होइन, मानिसको जीवनसँग जोडिएका आर्थिक जोखिम व्यवस्थापन गर्ने किफायती उपायको रूपमा समेत प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।

    बीमा सेवाको विस्तार अपेक्षाकृत रूपमा बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले बीमा गराउने परिपाटी अझै समयसापेक्ष परिष्कृत हुन नसकेको बताए ।

    ‘सरकारी नीति नियमले अनिवार्य गरेको सीमित क्षेत्रमै केन्द्रित रहेर काम गर्ने अवस्था अब परिवर्तन हुनुपर्छ,’ अध्यक्ष ओझाले भने ।

    उनले बीमा कम्पनीहरूलाई निजी घर, सार्वजनिक तथा सरकारी भवन, सांस्कृतिक सम्पदा र सहकारी संस्थाजस्ता नयाँ क्षेत्रतर्फ विस्तार गर्न आह्वान गरे । साथै डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई तीव्र बनाउँदै दक्ष जनशक्ति तयार पार्ने खाँचो औंल्याए ।

    बीमा ऐन, विगतका अभ्यास र अन्तर्राष्ट्रिय नवीनतम मापदण्डलाई आधार मानेर बीमा क्षेत्रलाई अझ सुदृढ, प्रतिस्पर्धी, विश्वसनीय र गुणस्तरीय बनाउन प्राधिकरण आफ्नो नियामकीय भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने अध्यक्ष ओझाले स्पष्ट पारे ।

    उनले न्यून आय भएका वर्गसम्म बीमाको पहुँच पुर्याउन, बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न र बीमालाई हरेक क्षेत्रको अभिन्न अङ्गका रूपमा विकास गर्न सरकार, बीमक र सरोकारवालाबीच सहकार्य, समन्वय र सहमतिमा आधारित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्राधिकरणले चाँडै नै बीमा एकीकृत निर्देशन जारी गर्ने तयारीसमेत गरिरहेको जानकारी उनले दिए। साथै कर्मचारीको दक्षता अभिवृद्धिमा समेत विशेष ध्यान दिन जरुरी रहेको धारणा राखे।

    प्रतिकृया दिनुहोस्