
काठमाडौं। नेपाल पावर एक्सचेन्ज (नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन्। सञ्चालक समितिको शुक्रबारको बैठकले आचार्यलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो ।
आशिष गर्ग प्रबन्ध सञ्चालक र उत्तरकुमार श्रेष्ठ, उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाँई, मोहन डाँगी संचालक बनेका छन्। करिब तीन महिना अघि भएको साधारण सभाले सञ्चालक समिति छनोट गरेको थियो। सञ्चालकहरुको बैठकले अध्यक्ष चयन गरेको हो। नेपेक्स स्थापना हुँदा शैलेन्द्र गुरागाँई अध्यक्ष थिए । आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरुक संस्था (इपान) अध्यक्ष हुन् भने उनको कम्पनी पिपुल्स इनर्जी लिमिटेडले ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
नेपेक्स विद्युत व्यापारका लागि स्थापना भएको कम्पनी हो। तर यसले लाइसेन्स पाइसकेको छैन्। ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले लाइसेन्स दिन अध्ययन गरेपनि कानुनी व्यवस्था नरहेको भन्दै रोकेको छ। अहिले विद्युत प्राधिकरणले मात्रै विद्युत व्यापार गर्दै आएको छ।
निजी क्षेत्रले पनि विद्युत व्यापार गर्न पाउनुपर्ने भन्दै कम्पनी दर्ता गरिएको हो। सरकारले विद्युत प्राधिकरणको सहायक कम्पनीलाई भने विद्युत व्यापारको अनुमति दिएको छ। नेपेक्सले भारतीय कम्पनी मणिकरण पावर लिमिटेडसँग निजी क्षेत्रबाट उत्पादित ५०० मेगावाट विद्युत बिक्रीका लागि सम्झौता गरेको छ। तर व्यापारको लाइसेन्स नपाएका कारण कार्यान्वयन हुन सकेको छैन्।
अध्यक्ष आचार्यले विद्युत व्यापारको लाइसेन्स लिनु नै कम्पनीको पहिलो उद्देश्य भएको बताए। ‘लाइसेन्स लिनुपर्छ। आज हामीले मन्त्री ज्युलाई पनि भेटेका छौं। उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने,’कानुनी समस्या कारण लाइसेन्स दिन नमिलेको बताउनुभएको छ। कानुनी प्रक्रिया मिलाएर लाइसेन्स पाउनेमा आशावादी छौं। त्यसपछि निजी क्षेत्र पनि विद्युत व्यापारमा प्रवेश गर्छ।‘