
काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म र्यापिड एपीआई बैंकिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
यस सेवाअन्तर्गत प्रथम चरणमा व्यवसायिक ग्राहकको सहमतिमा र्यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ईआरआर भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।
साथै दोस्रो चरणमा र्यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र ओएउथ टु जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु-हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिन्छ ।
यसैगरी, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरु उपलब्ध हुनेछन् ।
र्यापिडले व्यवसायिक प्रयोगकर्तालाई ओएउथ टुमार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड टोओटीपीको माध्यमबाट थप सुरक्षा प्रदान गर्छ । सम्पूर्ण डेटा आधुनिक पीकेआई प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।
यो सेवाले व्यवसायिक ग्राहकहरूको बैंकिङ कारोवारलाई धेरै नै सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको छ । सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।