News Portal

  • निफ्रा हरित ऊर्जा ऋणपत्रमा आवेदन दिने म्याद ३ दिन थप

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०८२
    ७ पटक
    २२ जेठ, २०८२

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’मा आवेदन दिने म्याद तीन दिन थप गरिएको छ । अब लगानीकर्ताले आगामी जेठ २५ गतेसम्म ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

    निफ्राले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जेठ १८ गतेदेखि निष्कासन गरेको थियो । प्रारम्भिक म्याद जेठ २१ गतेसम्म तोकिएको भए पनि भोटो जात्राका अवसरमा परेको सार्वजनिक बिदाका कारण एक दिन थप गर्दै म्याद जेठ २२ सम्म पुर्याइएको थियो । तर, मागअनुसार आवेदन नपरेपछि थप तीन दिनको समयावधि थपिएको हो ।

    कुल ५० लाख इकाइमध्ये ३० लाख इकाइ संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणको हिस्सा भित्र १ लाख इकाइ सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ भने बाँकी १९ लाख इकाइमा आम लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

    ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतम १० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। एक इकाइको मूल्य १ हजार रुपैयाँ निर्धारण गरिएको छ  । आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्बा सेवा र तिनका शाखा कार्यालयहरू तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणाली प्रयोग गर्न सकिनेछ।

    सात वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याज दिइनेछ । निफ्राको ऋणपत्र बिक्री व्यवस्थापक एनआईएमबी एस क्यापिटल रहेको छ ।

    प्रतिकृया दिनुहोस्