
साउन १९, २०७७
काठमाडौं । दिव्यश्वरी हाइड्रो पावरले आफ्नो कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अन्य कम्पनीहरुले भने चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीले नौ महिनाको अवधिमा तीन करोड १६ लाख ६० हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने दुई करोड ६ लाख २५ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
चैत मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १५ दशमलव ४९ प्रतिशतले घटेर ५ करोड ७५ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६ करोड ८० लाख ५१ हजार रुपैयाँ थियो । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १६ करोड ३२ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ ३८ रुपैयाँ १७ पैसा रहेको छ ।