
काठमाडौं । डिजेल पेट्रोल तथा मट्टीतेलको बजार भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल आयल निगमले पेट्रोल डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । मूल्य बढे सँगै आज राति १२ बजेदेखि पेट्रोल भाउ प्रतिलिटर १४२ र डिजल/मट्टीतेलको भाउ प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । २०७० सालमा पेट्रोलको बजार मूल्य १४० रुपैयाँसम्म पुगेको थियो ।
साथै आन्तरिक हवाइ इन्धनको भाउ पनि प्रति लिटर १० रुपैयाँले बढेर ११६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धन तर्फ भने प्रति किलो लिटर १०० डलरले बढेर १०९५ डलर पुगेको छ । एलपि ग्याँसको भाउ भने यथावत रहेको छ ।
आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा अत्याधिक मूल्य बढेकाले १५ दिनकै अवधिमा आयल निगमलाई २ अर्ब ६० करोड रुपैयाँले घाटा परिरहेको छ ।
मूल्य बढाउदा पनि आयल निगमलाई पेट्रोल तर्फ १३.२३ रुपैयाँले घाटा हुनेछ । त्यस्तै डिजेल तर्फ प्रति लिटर ११.१३ रुपैयाँ, मट्टीतेल तर्फ प्रतिलिटर १८.१२ रुपैयाँले नोक्सान पर्नेछ । आन्तरिक तर्फको हवाइ इन्धनमा प्रति लिटर १०.५० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाइ उडानमा ३२ रुपयाँले नाफा रहेको छ । एलपिग्यासमा पनि प्रति सिलिण्डर ५६० रुपैयाँले घाटा रहेको छ ।