
काठमाडौं । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।
बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–७, कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गैराल तथा बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले, संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटिसी, डिशहोम, सिडिएमए, युटिएल, एनसेल, एनइएको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढाटाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।