
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र पायोनियर एल असोसिएट्स (पीएलए) बीच जलविद्युत आयोजना विशेष ग्रीन ट्याक्सोनोमीसम्बन्धी नीति अध्ययनका लागि समझदारी भएको छ ।
शुक्रबार इप्पान सचिवालय, कमलादीमा इप्पानका अध्यक्ष गणेश कार्की र पायोनियर एलका सञ्चालक अनुपराज उप्रेतीले समझदारीपत्रमा हस्ताक्षर गरी औपचारिक रूपमा सहकार्यको शुरुवात गरेका हुन् ।
सरकारले २८,५०० मेगावाट विद्युत उत्पादनको रोडम्याप अघि सारेपछि त्यसका लागि आवश्यक पुँजी ग्रीन फाइनान्सिङमार्फत ल्याउन सकिने सम्भावनालाई देख्दै इप्पानले यो अध्ययन अघि सारेको हो । इप्पानका अध्यक्ष कार्कीले यस अध्ययनले सरकारलाई ग्रीन फाइनान्सिङसम्बन्धी नीतिगत निर्णयमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा, कृषि र पर्यटन नेपाल विकासका प्रमुख क्षेत्र भए तापनि ऊर्जाबाट छिटो नतिजा देखिने भएकाले निजी क्षेत्रले ऊर्जा विकासमा विशेष जोड दिएको बताए । उनले ग्रीन ट्याक्सोनोमीसम्बन्धी अध्ययन पनि यही लक्ष्यअनुसार अघि बढाइएको उल्लेख गरे ।
पायोनियर एलका सञ्चालक अनुपराज उप्रेतीले इप्पानसँग सहकार्य गर्दै ग्रीन ट्याक्सोनोमीसम्बन्धी अध्ययन गर्न पाउँदा उत्साहित भएको बताए । उनले यसअघि विद्युत ऐनसम्बन्धी अध्ययन पनि गरिसकेको जानकारी दिँदै ऊर्जा क्षेत्रको गहिरो अध्ययनमा आफूहरू निरन्तर संलग्न रहेको बताए ।
सम्झौताअनुसार पायोनियरले मुख्य रूपमा तीन विषयमा केन्द्रित रहेर अध्ययन गर्नेछ । जलविद्युत आयोजना विशेष ग्रीन ट्याक्सोनोमीसम्बन्धी गाइडलाइन निर्माण गर्ने, नेपालको हाइड्रोपावर क्षेत्रलाई सहयोग पुग्ने गरी ग्रीन ट्रान्जिसन वकालत गर्ने, जलविद्युत आयोजनाको क्षमता वृद्धि गर्न क्लाइमेट, ग्रीन र इनर्जी फाइनान्सिङका अवसरहरूको खोज गर्ने रहेकाे छ ।
यस अध्ययनले नेपालको जलवायु–अनुकूल ग्रीन ट्याक्सोनोमी मोडल निर्माणमा सहयोग पुर्याउनेछ । अध्ययनमा विश्वका उत्कृष्ट मोडलहरूको तुलनात्मक अध्ययन गरिनेछ र नेपालको सन्दर्भमा उपयुक्त मोडल सिफारिस गरिनेछ ।
त्यस्तै, अध्ययनमा कार्बन ट्रेडिङसम्बन्धी मुद्दाहरूको समेत समावेश हुने बताइएको छ । यसले निजी जलविद्युत आयोजना र सरकारबीच सहकार्यको पुल निर्माण गर्ने र आवश्यक नीति तथा संस्थागत संरचनाबारे पनि सिफारिस गरिनेछ ।
अध्ययन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले संयुक्त कार्यसमिति गठन गरिनेछ, जसमा पायोनियरबाट चार र इप्पानबाट तीन जना सदस्य रहनेछन् । यो कमिटीले आगामी अगस्ट २०२५ (भदौ २०८२) भित्र अध्ययन प्रतिवेदन तयार पार्नेछ र इप्पानलाई हस्तान्तरण गर्नेछ ।
सम्झदारीपत्र हस्ताक्षर कार्यक्रममा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष आनन्द चौधरी, महासचिव बलराम खतिवडा, कार्यसमिति सदस्य टीएन आचार्य, सुमन जोशी र प्रमुख कार्यकारी अधिकृत भीम गौतम सहभागी थिए । पायोनियर एलका तर्फबाट सञ्चालक अनुपराज उप्रेती र आर्या अर्याललगायत सहभागी थिए ।