News Portal

  • ग्रामीण क्षेत्रमा बीमाको दायरा विस्तार गर्न समन्वय आवश्यक छ : बीमा प्राधिकरण

    आर्थीकसंसार संवाददाता१९ बैशाख, २०८२
    ७ पटक
    १९ बैशाख, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा विकासका साझेदार र अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

    बीमा क्षेत्रको समग्र विकास, जनशक्ति अभिवृद्धि, ग्रामीण क्षेत्रमा पहुँच विस्तार, डिजिटलाइजेशन कार्यान्वयन र सहकार्यको नयाँ सम्भावनालाई प्रभावकारी रूपमा अघि बढाउन कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा पहुँचलाई जनमैत्री बनाउन साझेदार संस्थासँग सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै बीमा प्रणालीलाई नागरिक हितमा रूपान्तरण गर्न आग्रह गरे ।

    प्राधिकरणका निर्देशक निर्मल अधिकारीले जोखिममा आधारित बीमालेख विकास, सीमित स्रोतबाट अधिकतम उपलब्धि, र लक्षित समुदायसम्म बीमा सेवा पुर्याउन समन्वय आवश्यक रहेको बताए ।

    कार्यक्रममा विश्व बैंक, एडीबी, यूएनडीपी, डब्लुडब्लुएफ नेपाल, स्टोन स्टेप, प्राक्टिकल एक्सन लगायत संस्थाका प्रतिनिधिहरूले जलवायु जोखिम, प्राकृतिक विपद्, वन्यजन्तुजन्य क्षति, लघुबीमा, डिजिटल बीमा प्रणाली, बीमा दाबी प्रक्रिया सरलीकरण, तथा बीमा सम्बन्धी अनुसन्धान र प्रशिक्षणका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

    कार्यक्रममा बीमा संघहरू, पुनर्बीमा कम्पनी र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्