News Portal

  • गभर्नरमा नियुक्त हुन गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता

    आर्थीकसंसार संवाददाता५ बैशाख, २०८२
    १२ पटक
    ५ बैशाख, २०८२

    काठमाडौं । गभर्नरमा नियुक्त हुन गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा शुक्रबार पूरक निवेदन दर्ता भएको छ।

    नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा पूरक निवेदन दर्ता भएको हो। कार्यकारी निर्देशकबाट भट्टको राजीनामा स्वीकृत भने भइसकेको छैन।

    भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्। यसअघि अधिवक्ता थापाले यसअघि गभर्नर नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएको विरुद्ध रिट दायर गरेका थिए। सोही रिटमा समावेश हुनेगरी पूरक निवेदन परेको हो।

    यसअघिको रिटमा वैशाख २ गते सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो। यो रिटमा छलफल गर्न आइतबार दुवै पक्षलाई बोलाइएको छ। सोही दिन पूरक निवेदनमाथि पनि सुनुवाइ हुनेछ।

    गत चैत १८ गते अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ लाई दोस्रो संशोधन गरी गभर्नर नियुक्तिमा उमेर हद हटाएको थियो। त्यसअघिको व्यवस्थामा गभर्नरलगायत सम्बद्ध पदाधिकारीको न्यूनतम उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान थियो।

    प्रतिकृया दिनुहोस्